वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशमा सुशासन र पारदर्शितालाई सुदृढ पार्ने दिशामा केही महत्वपूर्ण नयाँ पहलहरूको घोषणा गरेको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा प्रस्तुत गरेको कार्यक्रममा आम नागरिकको गुनासो सम्बोधन र सार्वजनिक खर्चमा जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
प्रदेश सरकारले सुशासनका लागि प्रमुखताका साथ अघि सारेको एक नयाँ अभियान हो, ‘हेलो मुख्यमन्त्री (Hello CM)’। यो अभियानलाई प्राथमिकताका साथ लागू गरिने बताइएको छ। यसबाट नागरिकहरूले आफ्ना गुनासो, सुझाव तथा समस्याहरू सिधै मुख्यमन्त्रीसमक्ष पुर्याउन सक्नेछन्। यसले सरकार र जनताबीचको दूरी घटाउनुका साथै सेवा प्रवाहमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
यो अभियानले नागरिक सुनुवाईलाई संस्थागत गर्दै सरकारी संयन्त्रलाई थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
यसैगरी, सार्वजनिक खर्चमा पारदर्शिता सुनिश्चित गर्न र नागरिकलाई बजेट विनियोजन तथा खर्चबारे जानकारी गराउन ‘मेरो पैसा कहाँ जाँदैछ’ नामक अर्को महत्वपूर्ण अभियान सञ्चालन गरिने भएको छ। यो अभियानले प्रदेश बजेटको विनियोजन, कार्यान्वयन र खर्चको लेखाजोखालाई अझ पारदर्शी बनाउने लक्ष्य राखेको छ। यसबाट नागरिकहरूले आफ्नो करबाट उठेको पैसा कसरी र कुन क्षेत्रमा खर्च भइरहेको छ भन्ने बारेमा सहजै जानकारी प्राप्त गर्न सक्नेछन्।
यसले सार्वजनिक वित्त व्यवस्थापनमा जवाफदेहिता बढाउनुका साथै भ्रष्टाचार नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।