वीरगन्ज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–४, खेस्रहामा आज बिहानै विद्युत् सर्ट भई आगलागी हुँदा दुई परिवारको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन्।
बिहान ४ः४० बजे रामाशंकर गिरीको गोठमा सुरु भएको आगोले उनका छिमेकी दरोगा गिरीको घरगोठ समेत आफ्नो चपेटामा लिएको थियो।
आगलागीका कारण रामाशंकर गिरीको फुसको गोठ र बस्ने घर गरी दुई वटा संरचना पूर्ण रूपले जलेर नष्ट भएका छन्। यस घटनामा उनको घरमा रहेको अन्नपात, लत्ताकपडा र गरगहना गरी करिब रु. ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। दुःखद कुरा, सोही गोठमा रहेका एक भैंसी र एक पाडो पनि आगोले जलेर घाइते भएका छन्। हाल रामाशंकर गिरीको परिवार छिमेकीको घरमा आश्रय लिइरहेको छ।
त्यसैगरी, दरोगा गिरीको पनि फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर नष्ट भएको छ। उनको घरमा रहेको धान, गहुँ, काठ, भाँडाकुँडा र गरगहना गरी करिब रु। ७ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ। उनको परिवार पनि छिमेकीको घरमा बस्दै आएको छ।
आगलागीको खबर पाउने बित्तिकै दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो। बिहान ७:३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मानवीय क्षति भने नभएको बताइएको छ, जसले गर्दा थप ठूलो दुर्घटना टरेको छ।