ट्रेन्डिङ

वीरगन्जको नारायणी अस्पतालमा बिरामीमाथि गरिएका लापरवाहीबारे उच्चस्तरीय छानबिन गरी दोषीलाइ कारवाही गर्न स्वास्थ्य मन्त्री पौडेलसमक्ष माग

के हो घटना ?

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा पुगेको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ ।

नगर प्रमुख राजेशमान सिंहले संघ सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष यस्तो माग गरेका हुन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर मेयर सिंहले मन्त्री पौडेललाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरे ।

त्यस क्रममा खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसमेतको उपस्थिती थियो ।

गत शुक्रबार राति नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत सर्ट भई तीन घण्टासम्म सेवा अवरुद्ध हुँदा त्यहाँ उपचाररत १७ जना बिरामीको ज्यान जोखिममा पर्यो । उक्त घटना अस्पताल प्रशासन र प्राविधिक पक्षको चरम लापरवाहीका कारण भएको बताउँदै नगर प्रमुख सिंहले जिम्मेवार अधिकारीहरूलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

ज्ञापनपत्रमा अस्पताल विकास समितिलाई तत्काल बर्खास्त गर्नुपर्ने, सार्वजनिक अस्पतालहरूमा न्यूनतम पूर्वतयारी (जस्तै, विद्युत ब्याकअप, जेनेरेटर परीक्षण, कर्मचारी तालिम) अनिवार्य गर्नुपर्ने, घटनाबाट प्रभावित बिरामीहरूको अवस्था र उपचार विवरण सार्वजनिक गर्नुपर्ने, र पीडितहरूलाई आवश्यक क्षतिपूर्ति तथा पुनर्स्थापना प्रक्रिया सुरु गर्नुपर्ने मागहरू समेटिएका छन्।

नारायणी अस्पतालमा भौतिक पूर्वाधारको अभाव, कर्मचारीहरूको लापरवाही तथा सेवाको गुणस्तर कमजोर हुँदा बिरामीहरू निजी अस्पताल धाउन बाध्य भएको भन्दै मेयर सिंहले सार्वजनिक स्वास्थ्य प्रणालीको विश्वसनीयता जोगाउन सशक्त नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

यसअघि, शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थितिमा बसेको बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै