ट्रेन्डिङ

गणतन्त्र दिवसमा टुँडिखेलमा भव्य समारोह, प्रधानमन्त्रीद्वारा राजतन्त्र फर्काउने प्रयासको निन्दा

वीरगन्ज । नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको अवसरमा आज देशभर गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ।

यसै सन्दर्भमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निर्णय अधिकारलाई पुनः वंशमा केन्द्रित गर्ने प्रयास आज पनि भइरहेको भन्दै यस्ता गतिविधिप्रति कडा आलोचना गरेका छन्।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई ‘हुकुमी राजतन्त्रलाई परास्त गरेको दिन’ को रूपमा स्मरण गरे। उनले इतिहासमा जनता र निरंकुश राजतन्त्रबीच भएका संघर्ष र सम्झौताहरूको चर्चा गर्दै, जनतासँग भएका सम्झौताहरूलाई बारम्बार तोडेको राजतन्त्रलाई परास्त गरी जनताले गणतन्त्र स्थापना गरेको बताए। ‘जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने।

जेठ १५, २०६५ मा नेपालमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षाकर्मीहरूको कवाज प्रदर्शन र शान्तिको प्रतीक परेवा उडाउने कार्यक्रम सम्पन्न भएको थियो। नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै