वीरगन्ज । लामो समयदेखि सदन अवरोध गर्दै आएका विपक्षी दलहरूले बजेट प्रस्तुत गर्न दिने भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संयुक्त संघीय संसद्को बैठकमा प्रस्तुत गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले भोलि दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संघीय संसद्का बैठकहरू अवरुद्ध गर्दै आएका थिए। तर, राष्ट्रिय महत्वको बजेट प्रस्तुत गर्ने कार्यलाई भने उनीहरूले अवरोध नगर्ने निर्णय गरेका छन्, जसले गर्दा बजेट आउने बाटो खुलेको हो।
संघीय संसद् सचिवालयका अनुसार, भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ। यसै बैठकमा बजेट प्रस्तुत गर्नुअघि चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन पनि प्रस्तुत गरिनेछ। यसअघि, मंगलबार र बुधबार विपक्षीको अवरोधका कारण आर्थिक सर्वेक्षणसमेत पेश हुन सकेको थिएन।