वीरगन्ज । त्रिभुवन विश्वविद्यालयमा अनियमित विद्यार्थी भर्नाको विषयलाई लिएर नेपाली कांग्रेस निकट नेविसंघले आज उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तोडफोड तथा तालाबन्दी गरेको छ।
शैक्षिक क्यालेन्डर बिग्रन नदिने उपकुलपतिको अडान र भर्ना खोल्नुपर्ने नेविसंघको मागबीच तनाव चुलिएको हो। नेविसंघका विद्यार्थी नेताहरूले स्नातक प्रथम वर्षको परीक्षा फारम बन्द भइसकेको अवस्थामा समेत भर्ना खोल्न दबाब दिएका थिए। त्रिविको शैक्षिक क्यालेन्डरअनुसार असारभित्र परीक्षा सक्नुपर्ने भएकाले अहिले भर्ना लिन नसकिने उपकुलपति प्रा। खड्क केसी र शिक्षाध्यक्ष प्रा। दुविनन्द ढकालको अडान थियो।
उपकुलपति केसीले ‘अवाञ्छित गतिविधि’ सँग झुकेर विश्वविद्यालयको क्यालेन्डर नबिगार्ने र ‘दादागिरि’ सह्य नहुने स्पष्ट पारेका छन्।यता नेविसंघले भने स्ववियु निर्वाचनका कारण भर्ना रोकिएको र विद्यार्थीको भर्ना पाउने अधिकार रहेको भन्दै तुरुन्त भर्ना खोल्न चेतावनी दिएको छ। शंकरदेव, भक्तपुरलगायत १९ क्याम्पसका नेविसंघ कार्यकर्ता तोडफोड र तालाबन्दीमा संलग्न रहेको जनाइएको छ।