ट्रेन्डिङ

गणतन्त्र दिवस भव्यताका साथ मनाउन जनमत पार्टीको आह्वान : वडा र पालिकास्तरमा विशेष कार्यक्रम गरिने

वीरगन्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा जनमत पार्टीले देशभर शुभकामना आदानप्रदान तथा विविध कार्यक्रमहरू आयोजना गर्न आफ्ना वडा र पालिका एकाइहरूलाई निर्देशन दिएको छ।

पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउन आह्वान गरेका हुन्। विज्ञप्तिमा गणतन्त्र दिवसलाई नेपालको इतिहासकै एक महत्वपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिका रूपमा व्याख्या गरिएको छ। प्रवक्ता डा. यादवका अनुसार, यस दिन नेपालबाट एकात्मक निरंकुश राजतन्त्रको अन्त्य भई जनताको अधिकार, समानता र सार्वभौमिकताको मूर्त रूप स्थापित भएको हो।

जनमत पार्टीले गणतन्त्रलाई ‘जनताको सार्वभौमसत्ता अन्तर्निहित रहेको र यसले शासकको स्रोत जनतालाई बनाएको’ भन्दै यसको महत्वमाथि जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यसले जाति, भाषा, धर्म, लिङ्ग वा वर्गको भेदभावलाई अस्वीकार गर्दै सबै नागरिकलाई समान अधिकार र अवसरको प्रत्याभूति दिलाएको छ।’

पार्टीले वर्तमान व्यवस्थामा केही कमीकमजोरी तथा चुनौतीहरू देखिएको स्वीकार गर्दै ‘नौलो गणतन्त्र’ को अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। जनमत पार्टीले जनताद्वारा निर्वाचित कार्यप्रमुख, संवैधानिक निकायका प्रमुखहरू र अन्य प्रमुख राजनीतिक दलहरू मध्यमार्गी लोकतान्त्रिक मूलधारमै रहेको र यही बाटोबाट गणतन्त्रलाई थप सबल बनाउन सकिने विश्वास व्यक्त गरेको छ।

यस महत्वपूर्ण राष्ट्रिय पर्वको अवसरमा जनमत पार्टीले आफ्ना सम्पूर्ण पालिका र वडा एकाइहरूलाई सहज हुने गरी शुभकामना आदानप्रदान, प्रभातफेरि, सरसफाइ कार्यक्रम तथा मैनबत्ती प्रज्वलनसहितका कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिएको छ।

जनमत पार्टीले नेपाली गणतन्त्रलाई निर्मूलित हुनबाट जोगाउन र यसलाई अझै मजबुत बनाउन आफू सधैँ कटिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै