ट्रेन्डिङ

संसदमा गतिरोध कायमैः गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीको अवरोध, आधा घण्टाका लागि बैठक स्थगित

वीरगन्ज । संघीय संसद प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले जारी राखेको अवरोध आज पनि कायम छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भए पनि विपक्षी सांसदहरूको नाराबाजी र अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ। संसद बैठक सुरु हुनुअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच गतिरोध अन्त्य गर्ने प्रयासमा छलफल भएको थियो। उक्त छलफलले गृहमन्त्रीको राजीनामासम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै गृहमन्त्री रमेश लेखकले नै सदनमा जवाफ दिने निर्णय गरेको बुझिएको छ।

तर, यो निर्णयले विपक्षी दलहरूलाई सन्तुष्ट पार्न सकेन। सभामुख देवराज घिमिरेले बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर अवरोध सिर्जना गरेका थिए। उनीहरूले गृहमन्त्रीको राजीनामालाई नै मुख्य बटमलाइन बनाएका छन्।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरूले मंगलबारदेखि नै प्रतिनिधिसभा बैठकमा अवरोध सिर्जना गरिरहेका छन्। लगातारको अवरोधका कारण संसदको नियमित कार्यसूची प्रभावित भएको छ भने महत्वपूर्ण विधेयक र जनसरोकारका विषयमा छलफल अघि बढ्न सकेको छैन।

यस गतिरोधले संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासमाथि प्रश्नचिह्न खडा गरेको छ। सत्तापक्ष र विपक्षीबीचको संवादहीनता तोडी सदनलाई सुचारु बनाउनका लागि थप प्रयासको आवश्यकता देखिएको छ। सदनमा जारी गतिरोधले जननिर्वाचित प्रतिनिधिहरूको भूमिकामाथि नै असर पार्ने जोखिम बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै