जनकपुर । गणतन्त्र दिवस २०८१ को अवसरमा मधेस प्रदेश सरकारले प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ।
यस सम्बन्धमा गृह, सञ्चार तथा कानून मन्त्रालयले पत्र जारी गर्दै पत्रकार महासंघका सबै शाखाहरूलाई सम्मानको लागि नाम सिफारिस गर्न आग्रह गरिएको छ।
पत्र अनुसार, गणतन्त्रको मूल मर्म र भावना अनुरूप पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज र संघर्षशील व्यक्तित्वहरूलाई “प्रेस स्वतन्त्रता सेनानी” को रूपमा सम्मान गरिनेछ।
प्रदेशभरका पत्रकार महासंघहरू सर्लाही, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहटलगायत जिल्लामा रहेका संघीयता र प्रेस स्वतन्त्रता रक्षामा अग्रसर व्यक्तिहरूको नाम संकलनको प्रक्रिया सुरु भएको छ।
सहभागिता र सिफारिसको लागि आग्रह
मन्त्रालयले पत्रकार महासंघहरूसँग सहकार्य गर्दै उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ।
साथै, सबै जिल्लाबाट योगदान दिएका पत्रकार, सम्पादक, प्रकाशक वा स्वतन्त्र प्रेस रक्षामा योगदान दिने व्यक्तिको नाम सिफारिस गर्न पनि भनिएको छ।
