सर्लाही । विवादास्पद धर्मगुरुका रूपमा परिचित रामलाल बम्जन (रामबहादुर बम्जन) फेरि एकपटक जेल पुगेका छन्।
सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आज सुनाएको आदेशपछि बम्जनलाई मलंगवा कारागार चलान गरिएको छ।
अदालत परिसरमा बम्जन अदालत उपस्थित हुने खबरपछि उनका सयौं समर्थक र अनुयायीको भिड लागेको थियो।
बम्जनविरुद्ध २०८१ फागुन ५ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा पेस गरेपछि आज प्रारम्भिक सुनुवाइका क्रममा थुनामा पठाउने निर्णय भएको हो।
यसअघि पनि उनी कानुनी विवादमा तानिएका थिए।
सर्लाही जिल्ला अदालतले उनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुव्र्यवहार गरेको आरोपमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले सो फैसलालाई उल्ट्याउँदै गत चैत ६ गते उनलाई सफाइ दिएको थियो।
उच्च अदालतबाट सफाइ पाएर जेलमुक्त भएका बम्जन पुनः एक महिनामा फेरि कारागार चलान हुनुले विवादित व्यक्तित्वको रूपमा उनी पुनः चासोको केन्द्रमा आएका छन्।
धर्म, अध्यात्म र ‘लिटिल बुद्ध’ को नाममा चर्चित बनेका बम्जन पछिल्लो समय विविध कानुनी मुद्दामा फस्दै आएका छन्।
अब सम्पत्ति शुद्धिकरण मुद्दाको विस्तृत सुनुवाइ र प्रमाणको आधारमा अन्तिम फैसला आउने छ।