वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूहले जेठ १५ गते काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई कुनै हालतमा सफल हुन नदिने कडा चेतावनी दिएका छन्।
उनले ‘राजावादी’ को नाममा आतंक मच्चाउनेहरूलाई छुट नदिइने स्पष्ट पारेका छन्।आइतबार ललितपुरमा नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले राजावादीहरूलाई ‘खाओवादी’ को संज्ञा दिँदै उनीहरूको उद्देश्यमाथि प्रश्न उठाए। ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्,’ ओलीले भने।
वीरेन्द्र हत्या प्रकरणमा राजावादीमाथि ओलीको प्रश्न
ओलीले राजावादीहरूले ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भनी नारा लगाउने तर नारायणहिटीमा तत्कालीन राजा वीरेन्द्रको हत्या हुँदा कहाँ थिए भनी प्रश्न तेर्स्याए। ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’ उनको प्रश्न थियो। उनले राजावादीहरू कुनै ठूलो उद्देश्यका लागि नभई साना स्वार्थका लागि मात्र लडिरहेको आरोप लगाए।
जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा रहने उद्घोष
प्रधानमन्त्री ओलीले सरकार र जनता केही मौन बसेका कारण राजावादीहरूले ‘अनावश्यक फुर्तिफार्ति’ देखाएको भन्दै एमाले मैदानमा उत्रिएपछि उनीहरू ‘कता कता’ जाने बताए। उनले एमालेका नेता तथा कार्यकर्ताहरूलाई १५ गतेको आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
‘म साथीहरूलाई भन्न चाहन्छु–निर्देशन पछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसले थाम्छ ? कसले रोक्छ ? निर्देशन पछि आउँछ, तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्,’ ओलीले भने। उनले थपे, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ।’ आन्दोलनमा ‘प्रोटोकल’ का कुरा नहुने भन्दै सबै एक भएर अगाडि बढ्न उनले कार्यकर्ताहरूलाई आह्वान गरे।
ओलीको यो अभिव्यक्तिले जेठ १५ गते काठमाडौंमा राजावादी समूह र एमालेका कार्यकर्ताहरूबीच सम्भावित टकरावको संकेत गरेको छ। राजनीतिक विश्लेषकहरूले यसलाई सरकारले राजावादी गतिविधि नियन्त्रण गर्न एमालेका कार्यकर्तालाई प्रयोग गर्न खोजेको रूपमा हेरेका छन्।