वीरगन्ज । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाबारे नेपाली कांग्रेसभित्रै दुई फरक धार देखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको उजुरीपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारी प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र महत्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि यो प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठेको हो।
विपक्षी दलको राजीनामा माग, कांग्रेसभित्रै विभाजन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले यस प्रकरणमा गृहमन्त्रीको औपचारिक राजीनामा माग गरिसकेको छ। तर, कांग्रेसभित्र भने लेखकले राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा नेताहरू दुई समूहमा विभाजित भएका छन्।
स्पष्ट रूपमा दुई गुटमा विभाजित कांग्रेसको संस्थापन पक्ष गृहमन्त्री लेखकलाई बचाउन लागिपरेको छ। यसको विपरीत, डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहले भने आरोप लागेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएको छ। गृहमन्त्री लेखक कांग्रेसमा संस्थापन पक्षीय नेता मानिन्छन्।
इतर समूहका नेता डा. शेखर कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए । उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको उदाहरण प्रस्तुत गर्दै अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।
डा. कोइरालाले राजीनामाको सुझाव दिएको भोलिपल्ट, आइतबार, संस्थापन पक्षीय नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने फरक मत राखे । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहेका सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरे ।
‘विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएका उदाहरण हामीसँग छन्,’ सिटौलाले भने, ‘अहिले मन्त्रीमाथि कुरा उठेको होइन। अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको छ। अख्तियारले छानबिन गरिरहेकोले मन्त्रीमाथि आरोप लगाउन केही समय पर्खनुपर्छ। केहीले आरोप लगाए भन्दैमा मन्त्रीले राजीनामा दिन पर्दैन।’
यस विषयमा कांग्रेसले भने संस्थागत रूपमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।