वीरगन्ज । सङ्घीय राजधानी जोड्ने प्रमुख मार्ग नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि दैनिक साढे ४ घण्टाका लागि बन्द हुने भएको छ।
सडक स्तरोन्नतिको काम अगाडि बढाउन नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले यो निर्णय गरेको हो। आज जेठ १० गते देखि आगामी जेठ २५ गतेसम्म हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा रोक लगाइनेछ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यो निर्णय काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा भएको जानकारी दिएका छन्। नागढुङ्गा–पिपलामोड खण्डको निर्माण कार्यका लागि सडक बन्द गर्नु अपरिहार्य भएको आयोजनाको भनाइ छ।
सडक बन्दको अवधिमा काठमाडौँबाट जाने सवारीसाधनलाई नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधनलाई खानीखोलामा रोकिनेछ। यात्रुहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै, प्रहरीले वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरेको छ। यस अवधिमा धार्के–सितापाइला र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सकिनेछ।
सडक बन्दका कारण उत्पन्न हुन सक्ने ट्राफिक जाम र ढिलासुस्तीबाट बच्न यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न र धैर्यधारण गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।