ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको लिङ्देनलाई चेतावनी : ‘राजा फर्काउने सपना नदेख्नुहोस्, युवाको साथले प्रतिगमन धुलोपिठो पारिनेछ’

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि कडा प्रहार गर्दै राजतन्त्र फर्काउने कुनै पनि कुचेष्टालाई युवा शक्तिको साथमा धुलोपिठो पार्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्दै सबै प्रकारका प्रतिगमनका प्रयास रोक्न एमाले पार्टी अग्रभागमा रहेको बताए ।

केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई ‘राजा फर्काउँने’ दाबी गर्दै प्रधानमन्त्रीलाई ‘भाग्न हेलिकोप्टरको सुविधा दिन्छु’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको सिधा जवाफ दिँदै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलोपिठो बनाइन्छ। त्यस्ता प्रयास रोक्ने अग्रभागमा युवा संघ आउनुपर्छ। कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ। तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु।’ उनले लिङ्देनको भनाइलाई ‘गलत सपना’ को संज्ञा दिँदै जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएको ठोकुवा गरे ।

एमालेमाथि चौतर्फी आक्रमण र युवालाई कर्तव्य निर्वाहको आह्वान
प्रधानमन्त्री ओलीले नेकपा एमालेमाथि आन्तरिक र बाह्य दुवै पक्षबाट, साथै विरोधीहरूबाट, केन्द्रीकृत र चौतर्फी आक्रमण भइरहेको गुनासो गरे । ‘एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन दिने थिएनन्,’ उनले भने । प्रधानमन्त्रीले एमाले सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी भएको दाबी गरे ।

उनले युवा संघका कार्यकर्ताहरूलाई लक्षित गर्दै एमालेको पक्षमा बोल्दा ‘झोले’ भनेर हतोत्साहित गर्नेहरूका भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न आग्रह गरे । एमालेका योगदानलाई बिर्साउने प्रयास भइरहेको र नेतृत्वमाथि अनुचित, झुठा लाञ्छना तथा आरोप लगाउने काम भइरहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरूलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

यसरी उनले लिङ्देनको अभिव्यक्तिमाथि कडा प्रतिवाद गर्दै युवा शक्तिलाई प्रतिगमन विरुद्ध उभिन विशेष आह्वान गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै