वीरगन्ज ।आगामी जेठ १५ गते राजावादीहरूले राजधानीमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको दाबी गरेको छ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको र जनधनको क्षति भएको घटनाबाट पाठ सिक्दै यसपटक कडा सुरक्षा तयारी गरिएको प्रहरीले जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले जेठ १५ गतेको प्रदर्शनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा तयारी गरिएको र कुनै पनि जनधनको क्षति हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको जानकारी दिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि उपत्यकाको सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे। गत चैत १५ गतेको प्रदर्शनमा एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान गएको थियो भने व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो। उक्त घटनाबाट झस्केको प्रहरी प्रशासनले यसपटक यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति बनाएको बताइएको छ।
राजासंस्था पक्षधरहरूले राजधानीमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले आफ्नो विगतको अनुभवलाई समेत मनन गर्दै तयारी गरेको देखिन्छ। विशेषगरी राजधानीको संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइने, निगरानी कडा पारिने र सम्भावित अशान्तिलाई रोक्नका लागि आवश्यक सबै कदम चालिने प्रहरीको भनाइ छ। यसपटक शान्तिपूर्ण प्रदर्शनको सुनिश्चितता र कुनै पनि हिंसात्मक गतिविधि हुन नदिनेतर्फ प्रहरीले विशेष ध्यान दिएको जनाइएको छ।