ट्रेन्डिङ

रौतहट प्रशासनमा टोकन प्रणाली लागू, सेवाग्राहीलाई राहत

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवा वितरण प्रक्रियालाई प्रभावकारी बनाउन टाइमकार्ड टोकन प्रणाली लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी ९सिडिओ० विनोद कुमार खडकाको नेतृत्वमा सुरु गरिएको यो प्रणालीले सेवाग्राहीलाई पालोको आधारमा छिटो र सजिलो सेवा दिने उद्देश्य राखेको छ। यस प्रणालीमार्फत नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि लगायतका सेवाहरू निर्धारण गरिएको समयमा, तोकिएको झ्यालमा उपलब्ध गराइनेछ। यसले सेवाग्राहीलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्दै समय र खर्चको बचत गराउने विश्वास गरिएको छ।

सिडिओ खडकाका अनुसार, “पहिले झ्यालमा धक्कामुक्की, पालो मिच्नेजस्ता समस्याले सेवाप्रवाह अव्यवस्थित भएको थियो। अब टोकन प्रणालीले अनुशासित र पारदर्शी ढंगले सेवा दिनेछ।”

कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहाले टोकन प्रणालीले सेवाग्राहीको समय, पैसा र श्रम बचत भएको बताउँदै यसबाट बिचौलियाको प्रभाव पनि घटेको उल्लेख गरे। उनका अनुसार, पहिले केही कर्मचारीको नाममा बिचौलियामार्फत अवैध रकम असुली हुने गरेको थियो, जुन अब घट्ने आशा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी र अन्य प्रशासनिक कामका लागि दैनिक २५० देखि ३०० सेवाग्राही आउने गरेको सहायक सिडिओ किरणनिधि तिवारीले जानकारी दिए। सिडिओ खडकाले पदभार ग्रहण गरेदेखि नै कार्यालय व्यवस्थापन सुधारतर्फ ध्यान दिँदै आएका थिए। उनको पहलमा आएको यो परिवर्तन सेवाग्राहीमैत्री प्रशासन निर्माणतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै