ट्रेन्डिङ

धनुषाको बटेश्वर गाउँपालिकामा अख्तियारको छापा

जनकपुरधाम  । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

अख्तियारको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले सोमबार कार्यालयमा पुगेर लामो समयदेखि अलपत्र अवस्थामा रहेका तथा ‘सेटिङ’मार्फत ठेक्का दिइएका योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको हो।

छापाको भोलिपल्ट, मंगलबार, आयोगको टोली पुनः कार्यालय पुगेको थियो। तर, योजनासम्बन्धी फाइलहरू राखिएको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग भएको भन्दै कर्मचारीहरूले फाइल दिन असहयोग गरेका थिए। पुरीविरुद्ध यसअघि नै भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भइसकेको छ।

चार वर्षदेखि अधुरो अवस्थामा रहेको वडा नं। १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन, गाउँपालिका कार्यालय अगाडिको महादेव मन्दिर, र अन्य आधा दर्जनभन्दा बढी योजनाका फाइल अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

‘सेटिङ’मार्फत योजना बाँडफाँट
२०७८र७९ को आर्थिक वर्षमा तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखा अधिकृत सुमन पुरीबीचको मिलेमतोमा आर्यन कन्ट्रक्सनलाई दर्जनभन्दा बढी योजना दिएको खुलेको छ।रौतहटस्थित उक्त निर्माण कम्पनीलाई टेन्डर र कोटेसन प्रक्रियामार्फत एक प्रतिशत पनि बिलो नगरी योजना दिएको अख्तियार स्रोतको दाबी छ।

आर्यन कन्ट्रक्सनले वडा नं। २ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, गाउँपालिकाको प्रशासनिक भवनको दोस्रो तलाको निर्माण, दलित बस्तीको पीसीसी ढलानसहितका काम गरेको थियो। तर केही योजनाहरू – विशेष गरी मन्दिर र लक्ष्मी माविको भवन – अझै अधुरै छन्।

स्थानीय इन्जिनियरलाई पन्छाएर ‘कागजात बर्दिबासमै’
योजनाको काम गर्दा स्थानीय इन्जिनियर जितेन्द्र यादवलाई जिम्मेवारीविहीन बनाइ करारमा शौरभ कुशवाहालाई नियुक्त गरिएको थियो। फाइल तथा कागजातहरू बर्दिबासमै तयार पारिएको समेत अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हाल गाउँपालिकामा अध्यक्ष रामअशिष महतो छन्। उनका कार्यकालमा जनप्रिय माविको भवन भने सोही कन्ट्रक्सन कम्पनीबाट निर्माण गरिएको हो। अख्तियारले फेला पारेका कागजातको विस्तृत विश्लेषणपछि थप अनुसन्धान अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै