ट्रेन्डिङ

काठमाडौंमा जनमत–भाजपा नेतृत्वको भेटः दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता

वीरगन्ज ।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता डा. विजय जोली र नेपालका जनमत पार्टीका शीर्ष नेताहरूबीच आइतबार काठमाडौंमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

दुबै पक्षले नेपाल–भारत सम्बन्धलाई ‘नयाँ युगमा प्रवेश गराउने’ साझा प्रतिबद्धता व्यक्त गरेका छन्। भेटमा जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, महासचिव चन्दन सिंह र पार्टी प्रवक्ता डा. शरदसिंह यादव सहभागी थिए।
जनमत प्रवक्ता डा. यादवका अनुसार छलफल विशेषतः राजनीतिक स्थायित्व, सीमापार सहयोग, र सूचना प्रविधिमा युवाको भूमिकासम्बन्धी विषयमा केन्द्रित थियो। प्रवक्ता यादवले नेपालमा दिगो विकासको आधार राजनीतिक स्थायित्वमा निर्भर रहेको विचार डा. जोलीसँग साझा गरेको बताए।

उनले भने, ‘भारतमा जस्तै, नेपालमा पनि जबसम्म राजनीतिक स्थायित्व हुँदैन, तबसम्म दिगो विकास सम्भव हुँदैन भन्ने विषयमा हामीले खुला रूपमा कुरा गर्‍यौं।’ जोलीले नेपालमा राजनीतिक स्थायित्व र विकासको यात्रामा भारत सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए।

आतङ्कवाद र शान्तिको साझा एजेन्डा
भेटका क्रममा जनमत प्रवक्ता यादवले जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलामा निधन भएका २८ जना (जसमा एक नेपाली पनि थिए)प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेका थिए। उक्त घटनाको सन्दर्भमा भारत सरकारले सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ बारे चर्चा गर्दै, डा. जोलीले नेपाल सरकारको समर्थनप्रति आभार प्रकट गरेका थिए। ‘नेपाल बुद्धको देश हो, सधैं शान्तिको पक्षमा छौं भन्ने भनाइमा उहाँले सहर्ष धन्यवाद दिनुभयो,’ डा. यादवले बताए।

भाजपाको निरन्तर कुटनीतिक सक्रियता
भेटवार्ता केही साता अघि भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेको नेपाल भ्रमणपछि भएको हो, जसले संकेत गर्छ कि भारतको सत्तारूढ दल नेपाली राजनीतिक दलहरूसँग सम्बन्ध सुदृढ बनाउन सक्रिय रूपमा लागिपरेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै