ट्रेन्डिङ

सर्लाहीमा गहना बनाउने विषयमा विवाद हुँदा अन्सारीलाई सुंगुरको खोरमा बाधेर निर्घात कुटपिट

वीरगन्ज । सर्लाहीमा विवाहका लागि गरगहना बनाउने विषयमा सामान्य विवाद हुँदा एक पक्षले अर्को पक्षलाई सुंगुरको खोरमा बाधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ । तश्लिम अंसारीको छोरीको बिवाहका लागि गरगहना बनाउने विषयमा शनिवार बिहान १० बजेको समयमा स्थानीय सुनचाँदी पसले राजिन्द्र साह सोनारसँग वादविवाद र धक्कामुक्की भएको थियो ।

घटना भएको केहि समयमै सुनचाँदी व्यवसायी सोनारले स्थानीय केहि व्यक्तिलाई लगाएर तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको पीडितका छोरा कौशर अंसारीको अरोप छ । यता, घटनामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्सारी, उनका दाइ महम्मद अन्सारी, राजेन्द्र साह सोनार, सोनारका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो र पप्पु कुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए । डिएसपी राईले घटनाको कारण र यसमा संलग्नहरुबारे अनुसन्धान भइरहेको बताए । ‘अहिले उजुरी परेको छैन उजुरी परेपछि हामी कानूनी प्रक्रियामा जान्छौँ । अहिले अनुसन्धान चलिरहेको छ ।’ डिएसपी राईले भने, कानूनभन्दा माथि कोही छैन, कानुन उल्लङघन गर्ने कार्य कुनै पनि हालतमा स्वीकार हुँदैन ।’

अन्सारीलाई कुटपिट गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामान्य विवादमा पनि सुंगुरको खोरमा थुनेर कुटपिट गर्नु ठूलो मानविय अपराध भएको स्थानीयहरुले बताएका छन् । ‘एउटा मुस्लिम समुदायको व्यक्तिलाई सुंगुरको खोरमा राखेर कुटपिट गर्नु भन्दा ठूलो पीडा केही हुँदैन्’, पीडितका छोरा कौशरले भने, ‘यो हाम्रो सर्वसहरण भयो ।’

यसैबीच घटनाको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले चर्को विरोध गरेका छन् । सर्लाही गृहजिल्ला भएका पूर्वगृहराज्यमन्त्री अन्सारीले यस घटनाप्रति गहिरो आक्रोश प्रकट गर्दै यसलाई ‘समाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण’ भएको बताएका छन् । उनले घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

‘समाजमा विभाजनको बीउ छर्ने, घृणाको आगो सल्काउने र व्यक्तिगत र सामान्य झगडाहरुलाई सम्प्रदायिक रूप दिन खोजी अपराधीलाई जोगाउन खोज्ने र अपराधीहरूको राजनीतिक धार्मिक र सामाजिक संरक्षण गर्न चाहने कमजोर समुदायलाई लक्षित गरी अपमानजनक व्यवहार गर्ने यस्ता आपराधिक मानसिकताका व्यक्तिहरूलाई राज्यले कुनै हालतमा क्षम्य गर्नु हुँदैन । तीव्र छानबिनसहित दोषीमाथि अविलम्ब कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।’, आइतबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले पीडित परिवारलाई तत्काल न्याय दिन, सुरक्षाको प्रत्याभूति गराउन र गरिमासाथ पुनस्र्थापनाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै