ट्रेन्डिङ

सप्तरीमा जारी महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा नौ दिनदेखि संचालन भईरहेको महायज्ञको मुख्य मण्डपमा अचानक आगलागी भएको छ।

महायज्ञको मुख्य मण्डप जलेर खरानी भएको छ।महायज्ञको समापनको दिन भएको यस घटनाले श्रद्धालु भक्तजनलाई स्तब्ध बनाएको छ।

सदरमुकाम राजबिराज देखि करिब ३ किलोमीटर उत्तरतर्फ  रहेको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सञ्चालन गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्रीरामचरित्र मानस नौ दिवसीय महायज्ञ स्थलमा सोमबार साझ अचानक आगलागी भएको हो ।

प्रत्यक्षदर्शी श्रद्धालुहरूका अनुसार हवनका कार्यहरू भईरहेकै समयमा  एक्कासि आगलागी सुरु भएको हो।

आगोले महायज्ञका लागि निर्माण गरिएको मुख्य मण्डप पूर्ण रूपमा जलेर नष्ट भएको छ।

मण्डपसँगै त्यहाँ रहेका लत्ताकपडा, हवन सामग्री लगायतका पूजासामग्री समेत खरानी भएका छन्।

घटनापछी धेरै भक्तजनले अनिष्टको संकेत समेत भनेका छन् ।

यज्ञ हेर्न गएकी सप्तरीको बलान बिहुल- २ का अञ्जली पासमानले भनिन्, ‘यज्ञ कार्यमा अवश्य नै कुनै त्रुटी भएको हुन सक्छ,यो देवता रिसाएको अनिष्टको संकेत हो।’

घटनापछि राजविराज नगरपालिकाबाट आएको बारुण यन्त्र र उपस्थित सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। यस घटनामा कुनै  मानवीय क्षति नभएको प्रहरीले जनाइएको छ।

गत वैशाख २१ गतेदेखि सुरु भएको  महायज्ञ औद्योगिक क्षेत्रको जमिन शुद्धीकरण, धार्मिक चेतना अभिवृद्धि र मानव कल्याणका लागि आयोजना गरिएको थियो।

पगला बाबा नेतृत्वको आयोजनामा देशभरबाट आएका श्रद्धालुहरूले सहभागिता जनाएका थिए।

महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटीका विद्वानद्वारा प्रवचन र विशाल भण्डारा जस्ता धार्मिक गतिविधिहरूको व्यापक व्यवस्था गरिएको थियो।

पगला बाबाका अनुसार यस प्रकारको भव्य महायज्ञ पहिलोपटक वि.सं. २०५६ मा धनुषामा आयोजना गरिएको थियो भने यो दोस्रो पटक सप्तरीमा आयोजना गरिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै