वीरगन्ज । जनमत पार्टीभित्र कोष प्रबन्धनलाई लिएर उठेको विवादले गम्भीर रूप लिँदैछ ।
पार्टीको कार्यालयको लागि खरिद गरिएको करिब २ करोड मूल्यको घरलाई लिएर कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र राष्ट्रिय अध्यक्ष डा. सी.के राउतबीच अनबनको कुरा सार्वजनिक भएको छ ।
पार्टीको घर, निजीको नाममापार्टीको घर, निजीको नाममा
२०७९ सालमा पार्टीका नेताहरूले सामूहिक रूपमा सहयोग रकम उठाएर घर खरिद गरेका थिए । तर कोषाध्यक्ष यादवले पार्टीको नाममा नराखी आफ्नी श्रीमती ललिता यादवको नाममा घर राखेका छन् । घर किन्दा लिइएको ऋण तिर्न पार्टीले ५५ लाख सम्म तिरेको छ, तर घर निजी नाममा नामसारी गराएको पार्टीले आरोप लगाएको छ ।
केही मिडियाहरूले यस प्रकरणलाई राउत विरुद्ध चरित्र हत्याको रूपमा प्रस्तुत गरेको पार्टीका नेताहरु बताउँछन् । रातोपाटीमा पटक–पटक जनमत पार्टी र सो पार्टीका राष्ट्रिय अध्यक्षको चरित्र हत्या हुने गरी पूर्वाग्रहपूर्ण र आधाअधूरो जानकारी राख्दै समाचार लेख्दै आएको विषयमा ध्यानाकर्षण भएको पार्टीले जनाएको छ । ‘यो भन्दा अगाडि पनि राष्ट्रिय अध्यक्षको निजी जीवनसमेतलाई भद्दा तरीकाले लक्षित गर्दै उहाँको चरित्र हत्या गरिएको थियो ।
यसरी जनमत पार्टीबाट निलम्बित एउटा पदाधिकारीको रातोपाटीका रिपोर्टर÷सम्पादकसम्म रहेको नजिकको सम्बन्धकै आधारमा पटक÷पटक जनमत पार्टी र पार्टीका राष्ट्रिय अध्यक्षको चरित्र हत्या गर्नु उचित नभएको हाम्रो ठहर छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
सांसद बन्न नपाउँदाको रिस
निर्वाचन पछि ई. सुरेन्द्र नारायण यादवले आफूल सांसद बन्न नपाएको असन्तुष्टि थियो भने सांसदै नभए पनि उनले ६ महिनाको लागि जसरी पनि मन्त्री बनाउन अडान लिँदै आएका थिए । पार्टीले उनको सो माग पूरा गर्न नसक्दा उनी पार्टी विपरीत गतिविधि गर्दै आएको जनमतको ठहर छ ।
‘कोषाध्यक्षको नाम समानुपातिक सूचीको ७ औं नम्बरमा रहेकोले र हालको मतले ५ जना मात्रै समानुपातिक सांसद बन्न सक्ने भएकोले उहाँ सांसद नबन्नु भएको हो । समानुपातिको सूची पहिला तैयार हुने भएकोले समानुपातिकको सूचीमा नाम हुनेले प्रत्यक्षको टिकट पाउने कुरै हुँदैन, त्यही भएर उहाँले टिकट नपाएको भन्ने कुरा पार्टीलाई बदनाम गर्ने, अरूको खुट्टा तान्ने प्रवृत्तिले अभिप्रेरित मात्रै भएको हो ।’विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा कोषाध्यक्षले आफ्नी श्रीमती ललिता यादवको राजनैतिक नियुक्तिको लागि ‘बारगेनिङ’ गर्दै आएको र उनको श्रीमतीलाई मधेश प्रदेश नीति आयोगको सदस्य केही दिन अगाडि तोकिएको छ । केही दिन अगाडिसम्म पनि ई. सुरेन्द्र नारायण यादवले २०८४ मा सांसद र मन्त्री बनाए पछि मात्रै पार्टीको नाममा घर हस्तान्तरण गर्छु भनेर भन्दै आएको उल्लेख गरिएको छ ।