ट्रेन्डिङ

अम्बेडकर पार्कको शिलान्यासले समुदायमा आक्रोश, समितिले बुझायो मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

सिरहा । सलहेश फुलवारी संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

फुलवारी क्षेत्रभित्र हालै मदेश सरकारको वन तथा वातावरण मन्त्रालयको पहलमा गरिएको अम्बेडकर पार्कको शिलान्यासले समुदायमा आक्रोश सिर्जना गरेको छ । सिरहा जिल्लाको लहान नगरपालिकाको दुईवटा वडाहरु वडा नम्बर १२ र २२ मा रहेको ऐतिहासिक, सांस्कृतिक, पौराणिक तथा धार्मिक महत्वको लोकगाथा बोकेको सलहेश फुलवारीको संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिका संयोजक मोहन पासवानको अगुवाईमा संघर्ष समितिले आइतबार मुख्यमन्त्री सतिस सिंहलाई ज्ञापनपत्र बुझाइएको हो । ‘सलहेस फुलवारी क्षेत्र पासवान समुदायका पूर्वज एवं कुलदेवताको रूपमा रहेको लोकनायक सम्राट सलहेशसँग जोडिएको ऐतिहासिक पुरातात्त्विक स्थल हो ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । राजा सलहेसको रुपमा समेत परिचित सलहेस समानता, न्याय, मानवता र सामाजिक समावेशीताको सन्देश फैलाउने समाज सुधारक रहेकोले समितिले फुलवारी र त्यससँग जोडिएका सम्पूर्ण स्थलहरूको संरक्षणमा राज्य उदासीन भएको भन्दै समितिले आपत्ति जनाएको छ ।

समितिले बाबा साहेब डा. भीमराव अम्बेडकर प्रति उच्च सम्मान व्यक्त गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य भएको जनाउँदै सलहेश फुलवारीजस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको बताएको छ ।

ज्ञापनपत्रमार्फत समितिले प्रदेश सरकारले तत्काल उक्त पार्कको निर्माण स्थल अन्यत्र सार्नुपर्ने, सलहेश फुलवारी क्षेत्रलाई पूर्ण संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, त्यससँग जोडिएका सम्पूर्ण स्थलहरूलाई जोडेर सलहेश सांस्कृतिक सर्किट विकास गर्नुपर्ने, र सलहेशलाई राष्ट्रिय विभूति घोषणासहित युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने माग गरेको छ ।

संयोजक मोहन पासवानले ज्ञापनपत्र बुझाउँदै सलहेश फुलवारी पासवान समुदायको मात्र नभई सम्पूर्ण मधेशको सांस्कृतिक गौरव भएको भन्दै यस क्षेत्रमा कुनैपनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। माग सुनुवाइ नभए सशक्त आन्दोलनमा जानुपर्ने बाध्यता उत्पन्न हुने उनले चेतावनी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै