सर्लाही । जिल्लाको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्ने क्रममा उक्त व्यक्तिसँग नक्कली नोट बरामद भएको हो । छन्कीटोलास्थित प्रहरी चौकीबाट खटिएको टोलीले बुधबार साँझ भारत तर्फबाट आइरहेको बीआर ३० एई ८३६३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेको थियो । मोटरसाइकल चलाइरहेका व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह रहेको प्रहरीले जनाएको छ ।
चेकजाँच गर्दा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । साथै, नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ पनि फेला परेको थियो । साहलाई नक्कली र सक्कली नोट तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस घटनाले सीमावर्ती क्षेत्रमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गरेको छ ।