वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्ष भवन निर्माणमा करोडौँ रुपैँया अनियमितता भएको खुलासा भएको छ ।
भवन निर्माण कार्यमा एक करोड ८४ लाख ३८ हजार रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । करोडौँ रुपैँया हिनामिना गरेको अभियोगमा आयोगले आइतबार विशेष अदालतमा ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता हुनेहरुमा अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसहित ९ जना रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले ठाकुरसहित शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी, मूल्याङ्कन समिति संयोजक डा.विरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्माविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगले लुम्बिनी मिसन जेभीलाई पनि विपक्षी बनाएको छ ।
अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउने र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम ३५ इन्टरलक ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी हानिनोक्सानी पुर्याएको आरोप उनीहरुमाथि छ ।
प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७७/०७८ मा नारायणी अस्पताल वीरगन्जको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टरलक टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको पाइएको अख्तियारले जनाएको छ ।
अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुर, शहरी विकास पर्साका प्रमुख इन्जिनयर साह र इन्जिनियर अन्सारी, अस्पतालका तत्कालीन नासु यादव र लेखापाल माझीविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो दाबी गरिएको छ ।