काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल सरकार कटिवद्ध रहेको बताएका छन् ।
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवि नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका भूमिका रहदै आएको भन्दै कृतज्ञता व्यक्त गरे । मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि श्रमिकहरुको हक र अधिकारको सुनिश्चितता गर्दै नयाँ र परिष्कृत तवरले जुट्नु पर्ने आवश्यकतामा जोड दिए ।
आगामी दश वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्धेश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
उनले भनेका छन्, ‘यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्बन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ ।
सबै तहका सरकार तथा सरोकारवालासँगको सहकार्यमा श्रम बजारको प्रवद्र्धन र विकासका लागि चरणवद्ध एवम् प्रभावकारी तवरले कार्य गर्नेगरी अभियान सञ्चालन गर्ने चरणमा हामी पुगेका छौं । नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न श्रम संसार पोर्टल तथा मोबाइल एप्लिकेसन यही श्रमिक दिवसदेखि सबै स्थानीय तह र श्रमिकबीच पुग्ने अपेक्षा सहित आफ्नो स्थानीय तहबाटै सबै प्रकारका श्रम तथा रोजगार सेवा र सुविधा प्रदान गर्नका लागि अभियान नै सञ्चालन गर्ने छौं ।’
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूँजी र जाँगरको उचित उपयोग गर्दै ‘स्कील्ड नेपाल र सीपयुक्त नेपाली’ को अवधारणामा आगामी दिनमा डिजिटल ट्रयाप, डेथ ट्रयाप र डेट ट्रयापबाट बाहिर निकाल्न मन्त्रालय कटिबध्द रहेको बताए । उनले २०२५ को अन्तर्राष्ट्रिय श्रम दिवसमा सबै श्रमजीवी तथा रोजगारदाताहरु एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आव्हान गरेका छन् ।
‘श्रमसंसार’ पोर्टलको शुभारम्भ
१३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार मन्त्रालयले ‘श्रमसंसार’ पोर्टलको शुभारम्भ गरेको छ । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’लाई प्रभावकारी कार्यान्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी सिद्ध हुने उनले बताए । उक्त अबसरमा एकीकृत रोजगारी प्रणालीका लागि पोर्टलको शुभारम्भ गरिएको थियो ।