ट्रेन्डिङ

मनोज ग्यासमाथि कालोबजारीमा उजुरी दर्ता, कम तौलको ग्यास सिलिन्डर विक्री गर्नेको डिलरसिप निलम्बन

वीरगन्ज । पर्साको परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रा.लि. र बिक्रेता विनय लालमाथि तौल कम भएको ग्यास सिलिन्डर विक्री गरेको आरोपमा उजुरी दर्ता भएको छ ।

उपभोक्ता सनोज साहले मनोज ग्यास खरिद गर्दा ४ किलो ग्यास कम पाइएको थियो । ग्यास कम भएको पाइएपछि पीडित उपभोक्ता सनोज साह र उनका दाजु सरोज साहले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् । गत वैशाख १६ गते दर्ता गरिएको उजुरीमा कालोबजारी र उपभोक्ता ऐनअनुसार छानबिन गरी कारबाहीको माग गरिएको छ ।

कार्यालय प्रमुख सुनिल चौरसियाले यो विषयमा गम्भीरतापूर्वक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले तौल कम भएको सिलिन्डर कसैलाई हस्तान्तरण वा छेडछाड नगर्न निर्देशन दिएका छन् । उनले बिहीबार वा शुक्रबारसम्म ग्यास कम भेटिएको सिलिन्डर हेर्ने तथा डिलर र कम्पनीको बाँकी ग्यास सिलिन्डरको अनुगमन निरीक्षण गर्ने बताए । दोषी पाइएको कानून बमोजिम कारबाही गर्ने प्रमुख चौरसियाले बताए ।

उजुरी दर्ता भएकै दिन मनोज ग्यास कम्पनीका अरुण दासले जिल्ला प्रशासन कार्यालय, पर्सामा छलफलका लागि निवेदन दर्ता गराएका थिए । उजुरी फाँट प्रमुख गौरीशंकर साह कानुले कम्पनीको निवेदनका आधारमा पीडित उपभोक्ता, डिलर र कम्पनीबीच तौल कम भएको समस्याबारे छलफल गर्न बोलाएको बताएका थिए ।

बैठकमा ग्यास बिक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साह, गणेशमान श्रेष्ठ, इन्द्रजित यादव, विनय लाललगायत उपस्थित थिए । पीडित सनोज साहका साथमा राजनीतिक कार्यकर्ता जलेश्वर सरार्फ र उनका दाजु सरोज साह सहभागी थिए ।छलफलमा नेता सरार्फले पीडकले नै पीडित उपभोक्तासँग छलफल गराउन खोजेको भन्दै कम्पनीको नियतमाथि शंका गरे ।

पीडित साहले आफूलाई जिल्ला प्रशासन कार्यालयबाट सिलिन्डर तुरुन्त ल्याउन बारम्बार दबाब आइरहेको बताए । एउटा निकायमा कानूनी प्रक्रियाका लागि निवेदन दर्ता भइसकेपछि अर्को निकायले बिनाकुनै रीत सिलिन्डर मगाउनु रहस्यमय भएको साहको भनाई छ ।

यता, ग्यास बिक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साहले मनोज ग्यास कम्पनीले विवादित बिक्रेता विनय साहको डिलर अनुमति रद्द गरेको जानकारी गराए । यस प्रकरणमा थप छानबिन गरी कानूनी कारबाही अगाडी बढाउन पीडितको माग छ ।

यता, मनोज ग्यास उद्योग प्रा.लिले कम तौल भएको ग्यास विक्री गर्ने रानीघाटस्थित ठाकुरशिला ट्रेडर्सको ‘डिलरसिप’ निलम्बन गरेको छ । बुधबार वीरगंज–१२ रानीघाटमा रहेको ठाकुरशिला ट्रेडर्सलाई पत्र लेख्दै ग्यास सिलिन्डरमा ४ केजी वजन कम भएको हुँदा आवश्यक जाँचपडताल, अनुसन्धान गर्नु पर्ने भएको भन्दै डिलरसिप निलम्बन गरेको पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै