काठमाडौं । “आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन” – यही ऐतिहासिक नारासहित सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा आज नेपालसहित विश्वभर १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित मनाइँदैछ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागो शहरमा सुरु भएको श्रमिक आन्दोलनले श्रमिक वर्गको पेसागत अधिकार र मर्यादाको संघर्षलाई विश्वव्यापी बनाएको थियो।
आन्दोलनको क्रममा भएको हिंसात्मक घटनामा सात श्रमिकले ज्यान गुमाए पनि आन्दोलन अन्ततः सफल बन्यो।
त्यसको तीन वर्षपछि, सन् १८८९ मा फ्रान्सको पेरिसमा आयोजित श्रम संगठनहरूको बैठकले हरेक वर्ष मे १ लाई श्रमिक दिवसको रूपमा मनाउने निर्णय गर्यो।
नेपालमा मे दिवसको यात्रा
नेपालमा यो दिवस विसं २०१९ मा पहिलोपटक औपचारिक रूपमा मनाइएको हो।
विराटनगरको श्रमिक आन्दोलन (वि.सं. २००३),
वि.सं. २००७ को राजनीतिक परिवर्तन र
वि.सं. २०४६ पछि सार्वजनिक बिदा को रुपमा स्थापना भएसँगै यस दिवसको महत्व झनै बढेको छ।
श्रमिक दिवस नेपालमा पनि पञ्चायती शासनको विरोधको स्वरूपमा भित्रिएको हो, जसले श्रमिक चेतनालाई संस्थागत बनाउने बाटो खोल्यो ।
आज देशभर श्रमिक संगठनहरूको कार्यक्रम
नेपाल ट्रेड युनियन महासंघ (GEFONT), अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) लगायतका श्रमिक संगठनहरूले राजधानीसहित देशभर ¥याली, सभा, गोष्ठी र सम्मान कार्यक्रमको आयोजना गर्दै छन्।
दिवसको अवसरमा श्रमिकले आफ्नो योगदानको मूल्यांकन र न्यूनतम ज्यालादेखि सामाजिक सुरक्षासम्मका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन्।