वीरगन्ज । वीरजन्जमा विवाह, ब्रतबन्ध, पाटी उत्सव तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका बजाउन पूर्ण रूपमा बन्देज लगाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरुसँगको बैठकमा उक्त निर्णय भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्तले बताए । बैठकमा जिल्लाका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमालसहित वीरगंजमा सञ्चालित पाटी प्यालेसका संचालक एवम् प्रबन्धकहरुको सहभागिता रहेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष समेत रहेका पन्तले जानकारी दिए ।
बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै डिजेलाई पनि अब क्रमश निरुत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले हाललाई डिजे राति १० बजे पछि पूर्णरूपमा निषेध गर्ने सहमति भएको र तुरुन्तै अन्य सरोकारवालाहरुसँग पनि बैठक बसेर डिजेलाई पर्सामा पूर्ण रूपमा प्रतिबन्ध गरिने बताए ।
प्रहरी प्रमुख मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरस पालना गर्नु पर्ने र त्यसो नभए उल्लङ्घन गर्नेलाइ कारबाहीको दायरामा ल्याउने बताए । त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमाबाट नियम बिपरित भित्रिने डिजेका उपकरण, पटाका एवम् आतिशबाजीजन्य सामानहरुमा कडाइका साथ चेकजाँच गरिने बताए ।
बैठकमा होटल व्यवसायी पन्तले पाटी प्यालेसमा अधिकांश अग्रिम बुकिङ डिजे सहितनै भएकाले अहिले नै डिजेलाई पूर्णरूपमा प्रतिबन्ध गर्ने अवस्था नरहेको बताए । डिजेलाई पूर्ण प्रतिबन्ध गर्न केही समय मागिएको र सोही बमोजिम हाललाई पाटी हल भित्र १० बजेपछि डिजे निषेध गरिने पन्तले बताए ।
उक्त बैठकमा संघका महासचिव माधब बस्नेत, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत, पर्यटन कार्यालय पर्साका प्रमुखलगायत पाटी प्यालेस सञ्चालक एवम् सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।