वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप कडाई गरेको छ ।
भारतको काश्मिर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी पर्सा प्रहरीले थप सतर्कता बढाएको छ । आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपालभित्र पाकिस्तानी नागरिकले प्रवेश गर्न सक्ने स्थितिको आकलन गरी पर्सा प्रहरीले थप सतर्कता अपनाएको हो ।
पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लाका विभिन्न नाकामा रहेका प्रहरी युनिटलाई सीमानाकामा थप कडाई गर्न निर्देशन दिएका छन् । उनले सीमानाकामा थप कडाई गर्नुका साथै शंका लागेका व्यक्तिको परिचय पत्र हेरेर मात्र जान दिन निर्देशन दिएका छन् ।