वीरगन्ज । उच्च सरकारी वकिल कार्यालय वीरगन्जले वीरगन्ज वडा नम्बर १४ स्थित चिनी कारखानाको कित्ता नम्बर १३२३ को जग्गामा रहेको घर टहराहरु खाली गर्न सूचना जारी गरेको छ ।
हाल खारेज भएको तत्कालिन वीरगंज चिनी कारखानाको वीरगन्ज महानगरपालिका बडा नंम्बर १४ स्थित कित्ता नंम्बर १३२३ (साबिकको मजडिहा पिप्रा वडा नंम्बर २ स्थित कित्ता नंम्बर ११३१) को जग्गा सहितमा रहेको घर टहराहरु हटाउन कार्यालयले ३५ दिने सूचना जारी गरेको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ गतेको निर्णयानुसार यस उच्च सरकारी वकील कार्यालय, वीरगन्ज एवं मातहतको जिल्ला सरकारी वकील कार्यालय, पर्साको संयुक्त नाममा हस्तान्तरण भएकोमा उक्तः घर टहराहरुमा हाल पनि केहि व्यक्तिहरु बसोबास गर्दै आएको भनि देखिन आएको हुँदा एवं उपर्युक्त जग्गामा कार्यालय भवन निर्माण गर्न भवनको संरचनात्मक डिजाइन तथा नक्सा र स्वगत अनुमान तयारीको प्रकृया तत्कालै शुरु गरिनु पर्ने भएकोले घर टहराहरु हटाउन सूचनामा भनिएको छ ।
सूचना टाँस भएका मितिले ३५ (पैतिस) दिन भित्र उक्त घर टहराहरु खाली गरी सहयोग गरिदिनु अन्यथा कानून जमोजिम थप कारवाही गरि खाली गराईने व्यहोरा कार्यालयका सहन्यायाधिवक्ता कोष हरि निरौलाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
