वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको अध्ययन सुरु गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साले लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति समेत रहेका लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । जिल्ला सरकारी वकिलको कार्यालयले अहिले लामिछानेको मुद्दाको अध्ययन गरिरहेको छ । मुद्दाको प्रतिवेदन लामो भएकाले अध्ययन गर्न केही दिन लाग्ने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले बताए ।
उनका अनुसार प्रतिवेदन अध्ययन सकेपछि शुक्रबारसम्म जिल्ला अदालत पर्सामा अभियोजन हुन्छ । ‘फाइल ठूलो छ, अध्ययन सके लगतै शुक्रबारसम्ममा अदालतमा अभियोजन हुन्छ ।’ न्यायाधिवक्ता निरौलाले भने ।
यी मुद्दामा ३० जना व्यक्ति, तीनवटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ । २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ । यसैगरी स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासंग १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थासंग
१ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिसंग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनु पर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको प्रहरी प्रवक्ता लम्साल बताउँछन् ।
संसदीय छानविनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरुमाथि मुद्दा दर्ता भएको थियो ।
प्रहरीका अनुसार सुरुमा ०८० सालको साउन महिनाको २१ गते ५२ जना, ०८० सालकै भदौं महिनामा २०७ जना र ०८१ सालको फागुन २ गते १७९ जनाले सानो पाइलाले रकम अपचलन गरेको भन्दै विभिन्न व्यक्तिलाई प्रतिवादी जाहेरी दर्ता गराएको थियो ।