साइप्रस । ‘टिकटक’ बनाउने बहानामा बोलाएर रौतहटमा एक बालकको गोली हानी हत्या गरिएको छ ।
जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ७ का १४ वर्षीय कृष्णप्रसाद यादवलाई टिकटक बनाउन बोलाएर नजिकको चाँदी खोलामा लगेर गोली हानी हत्या गरेको खुलासा भएको हो । हत्या आरोपी चार जनालाइ प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त बृन्दावन-७ बस्ने २५ वर्षका नागेन्द्र सहनी, सहायक अभियुक्त २२ वर्षका साधु भन्ने नागेन्द्र सहनीसहित गौर नगरपालिका वडा नम्बर ४ निवासी बिकास पटेल र गौर नगरपालिका वडा नम्बर ८ निवासी अनिल साह रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो ।
के हो घटना ?
यहि बैशाख ६ गते साँझ चार बजे कृष्ण बीआर ०५ डब्लू ०१३७ नम्बरको मोटरसाइकल चढेर घरबाट निस्किए । तर उनी राती फर्किएनन् । त्यसपछि परिवारले उनको खोजी सुरु गर्यो ।
यो क्रम दुई दिनसम्म चल्यो, तर कृष्णको अत्तोपत्तो लागेन । दुइदिनसम्म उनको अवस्था पत्ता नलागेपछि खोजीका लागि बैशाख ९ गते परिवारका सदस्यले प्रहरीसँग गुहार माग्दै इलाका प्रहरी कार्यालय गरुडामा हुलियासहित निवेदन दर्ज गराए । लगत्तै प्रहरीलेे कृष्णको खोजी तिव्र पार्यो ।
उनी हराएको पाँच दिनपछि अर्थात् बैशाख ११ गते बृन्दावन-८ स्थित चाँदी खोलामा प्रहरीले शव बरामद गर्यो । छाती र पेटमा गोली लागेको, घाँटी छिनिन लागेको, पेटबाट भित्री अंगहरु बाहिर निस्किएको तथा टाउकोको भाग सडेर गलिसकेको अवस्थामा उनको शव भेटिएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
किन र कसरी हत्या ?
दुवै परिवारबिचको पुरानो रिसइबी साँध्न टिकटकलाइ माध्यम बनाएर गाउँकै नागेन्द्र सहनीले कृष्णलाइ बोलाएर हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार घरबाट निस्केकै दिन कृष्णलाई नागेन्द्रले मोबाइलमा फोन गरी गरुडा–८ स्थित चांदी नदीमा बोलाए । उनी जाँदै थिए । गढीमाई मन्दिर नजिक पुगेपछि कृष्णलाई नागेन्द्रद्वयले नियन्त्रणमा लिई मोबाइल खोसेर मोटरसाइकलको बिचमा राखी नदी तर्फ लगे ।
नदीमा पुग्नासाथ साधु भन्ने नागेन्द्रले कृष्णलाई धकेलेर लडाइदिए, र अर्का नागेन्द्रले उनको छाती र पेटमा २ राउण्ड गोली हाने । गोली लागेपश्चात कृष्ण त्यही ढल्छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
हत्यापछि नागेन्द्रद्वयले मृतकको मोटरसाइकल प्रयोग गरी दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाए र मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडे । एक दिनपछि विकासलाई ५ हजार रुपैँयामा बेचेको प्रहरी अनुसन्धानले देखाएको छ ।
त्यसपछि सबुत प्रमाण नष्ट पार्न उनीहरुले मोटरसाइकल टुक्रा पारेर गौरमा रहेको एक ग्यारेजमा पुर्याए । घटनामा संलग्न भएको आरोपमा नागेन्द्रद्वयसहित मृतक कृष्णको मोटरसाइकल किनेर ग्यारेजमा लुकाउने विकास पटेल र मोटरसाइकल टुक्रा पार्ने ग्यारेज संचालक अनिल साह समेतलाई पक्राउ गरिएको एसपी घिमिरले जानकारी दिए ।
यस्तै जिल्ला प्रहरीका अनुसार केही समयअघि कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो । त्यसको दोष सहनी परिवारले कृष्णका बुबालाई लगाउँदै आएका थिए ।
यसैगरी तीन वर्षअघि कृष्णको बुबा सुरजराय यादवलाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको प्रहरीले जनाएको छ । यिनै कारणले कृष्णको हत्या गरिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइन्छ ।
घटनामा संलग्न रहेको आशंकामा अन्य व्यक्तिहरुको समेत पहिचान तथा खोजी कार्य भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।