ट्रेन्डिङ

देशभर गर्मी बढ्दै, तराई क्षेत्रमा तातो लहरको चेतावनी

काठमाडौँ । हाल देशमा स्थानीय वायु प्रणालीको आंशिक प्रभाव देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश भू-भागमा तापक्रम बढ्ने पूर्वानुमान गरेको छ।

विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रबाहेक देशभर गर्मीको मात्रा बढ्ने देखिएको छ।

काठमाडौँ उपत्यकामा समेत गर्मी दिनप्रतिदिन चुलिँदै गएको छ।

आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भेगहरू अत्यधिक गर्मीको चपेटामा पर्ने सम्भावना रहेको छ।

विशेषगरी लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो लहर (हीट वेभ) आउने सम्भावना औंल्याइएको छ।

यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागहरूमा कतैकतै मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ।

त्यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागहरूमा हल्का वर्षा र हिमपातसमेत हुनसक्ने प्रक्षेपण गरिएको छ।

आज राति पनि देशको तराई भू-भागहरू विशेषगरी मधेस, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा अत्यधिक गर्मी कायम रहनेछ।

यसरी गर्मीको प्रभाव बढ्दै जाँदा नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै