काठमाडौं । सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकेको छ । उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठलाई तोकिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीलाई दिइएको छ ।
त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्माले पाएका छन् भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. संजीव शर्मालाई दिइएको छ । निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।
चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो ।चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।