रौतहट । रौतहटको भएको आगलगीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको छ ।
दुइ बेग्लाबेग्लै ठाउँमा भएको आगलगीका कारण करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति सदरमुकाम गौर र बौधिमाई नगरपालिका कोपवा गाउँमा आगलगी भएको थियो । जसबाट धेरै क्षति भएको हो ।
रौतहट प्रहरीका अनुसार बौधिमाई नगरपालिका– ५ कोपवा निवासी धर्मेन्द्र जैसवालको घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा गएराति साढे ८ बजे अचानक विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट उनको गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल, १ थान मोटरसाइकल, ३ तल्ले घर गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।
प्रहरीको टोली, गौर नगरपालिकाको दमकल , बौधीमाईको दमकल र गाउँलेको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी बताउँछ ।
त्यसैगरी गएराति ९ बजे गौर कबिर चोक स्थित स्थानीय कृष्णनन्दन पेटलको बास र खरले छाएको कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट ४ लाख बराबरको कच्ची घर, बनाउन राखेको ५ थान मोटरसाइकल, पानी तान्ने मोटर १ थानलगायत २१ लाख बराबरको सामान जलेर खरानी भएको प्रवक्ता रायले जनाए ।
प्रहरीका अनुसार यो दुवै आगलगीका कारण १ करोड ९७ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको आंकलन गरिएको छ ।