वीरगन्ज । एक हप्तादेखि अशान्त बनको पर्सामा लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहानदेखि पूर्णरुपमा हटेको छ ।
वीरगन्जमा उत्पन्न दुइ समुदायबिचको विवाद मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयले शुक्रबार बिहानदेखि निषेधाज्ञा हटाइएको छ । गएको ३० गते हनुमान ज्यन्तीको अवसरमा निकालिएको शोभायात्रामा दुई समुदायबिच विवाद भएपछि उत्पन्न तनावका कारण सुरक्षा समितिको बैठकले सुरुमा कर्फ्यू लगाएको थियो ।
त्यसपश्चात वीरगन्जको अवस्थामा सुधार हुँदै गएपछि नयाँ वर्षदेखि कर्फयु हटाउँदै निषेधाज्ञा भने जारी राखेको थियो । तर निषेधाज्ञा राख्नुपर्ने अवस्था नरहेको सुरक्षा विश्लेषणपछि हटाइएको छ ।
जिल्ला प्रशासनले विभिन्न राजनीतिक दल, समूह, विभिन्न हिन्दूवादी सङ्गठनहरुसहित अन्य सरोकारवाला पक्षसँग गरेको पटकपटक छलफलमा विवाद सुल्झाएर साम्य गर्ने प्रतिबद्धता आएपछि सुरक्षा समितिको बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
बिहीबारदेखि नै वीरगन्ज पुरानो लयमा फर्किँदै गएसँगै शुक्रबारबाट निषेधाज्ञा हटाइएको हो । अहिले बजार पूर्णरुपमा चलायमान बनेको छ ।
विवाद कसरी सुरु भयो भन्ने विषयमा आ–आफ्नै दाबी
हनुमान ज्यन्तीको अवसरमा वीरगन्जमा भब्य शोभायात्रा निकालिएको थियो ।
विभिन्न ठाउँमा बाजागाजासहित हिन्दू धर्मावलम्बीहरुले खुसी मनाउदै भगवान हनुमानको ज्यन्ती मनाइरहेका थिए । यही अवसरमा दिउँसो शोभायात्रा निकालेर नगर परिक्रमाको कार्यक्रम थियो ।
जुन सूचि अनुसार शोभायात्रा निकालेर परिक्रममा गर्ने क्रममा शोभायात्रा वीरगन्जको छपकैयामा पुगेको थियो ।
शोभायात्रा छपकैयामा पुग्दासम्म कुनै विवाद भएको थिएन । त्यहाँ रहेका एक प्रत्यक्षदर्शीका अनुसार शोभायात्रा करिब ३५ मिनेटसम्म छपकैयामा रहँदा पनि कुनै विवाद भएको थिएन ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शी समसाद अलीका अनुसार शोभायात्रा छपकैयामा पुगेर आफ्नो उत्सव मनाइरहेको थियो ।
‘विवाद कहाँबाट सुरु भयो भने एउटा मोटरसाइकलमा तीनजना सवार भएर मुस्लिमबस्तीमा प्रवेश गरे, उनै प्रवेश गरेको व्यक्ति कता गएर भनेर मस्जिद अगाडि बसेका केही मुस्लिम अगुवाहरुले हेर्न उठे ।
मुस्लिम अगुवाहरु ती केटाहरुलाई गाउँमा कसैसंग विवाद नहोस भनेर हेर्न मात्र उठेका थिए, उनी भन्छन्, ‘यहीबेला शोभायात्रामा रहेकाहरु सायद गाउँमा प्रवेश गरेका आफ्ना साथीहरुलाई कसैले नियन्त्रणमा लियो कि लाग्या होला, जुनकारणले शोभायात्रामा सहभागीहरु आक्रोशमा आएर उच्छृङ्खल गतिविधि गर्न थाले, अनि सुरुमा उतैबाट ढुङगामुढाा प्रहार भयो ।’
शोभायात्राबाट एकजनाले ढुङ्गामुढा प्रहार गरेपछि त्यही बेला गाउँका एकजना अलिकति मानसिक सन्तुलन ठीक नभएका भाइले ढुङ्गामुढा चलाएको घटनास्थलको प्रत्यक्षदर्शी समसाद अलीको दाबी छ ।
उनका अनुसार यसरी जब मुस्लिम समुदायबाट पनि ढुङ्गामुढा प्रहार भयो, अनि छपकैयाको माहोल तनावग्रस्त बन्यो । त्यो दिन करिब डेढ घन्टा छपकैयामा दुबै समुदायबिच लडाइ चलिरहयो, ढुङ्गामुढा प्रहार भइरहयो ।
उनका अनुसार यो सब विवाद भइरहाँदा घटनाको वास्तविकताबारे मुस्लिम समुदायसंगै रहेका नेपाल प्रहरीका तैनाथ सुरक्षाकर्मीहरु जानकार छन् ।
यता शोभायात्रा गरिरहेका रञ्जित साहले भने फरक प्रतिक्रिया दिएका छन् । पहिले मुस्लिम समुदायबाट शोभायत्रामा ढुङ्गामुढा प्रहार भएको उनको दाबी छ । त्यसपछि विवाद सुरु भएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘हामी शोभायात्रा लिएर छपकैया पुगेका थियौं, त्यहाँ अलिकति ट्राफिक जाम रहेकोले ५ मिनेट जति हाम्रो शोभायात्रा श्रीराम सिनेमाघर निर ‘होल्ड’ भयो । त्यहीबेला एकजना मुस्लिम समुदायका युवाले हाम्रो शोभायात्राको बिचमा आएर झण्डा खोसे । जुनकारण उनीसंग विवाद भयो । यो बेलासम्म त्यहाँ रहेका मुस्लिम समुदायका व्यक्तिहरुले पनि त्यसलाई सम्झाएर हटाए ।’
उनका अनुसार ती मुिस्लम समुदायका युवालाइ त्यहाँबाट हटाएपछि साइडमा गएर ढुङगा प्रहार गरे, जुन भिडिओ छ्याछ्याप्ती छ । यो सब भइरहँदा पनि हाम्रो शोभायात्रामा सहभागीहरु कोही अगाडि बढिसकेका थिए भने, कोही पछाडि नै थिए ।
उनले भने, ‘तर माहोल कुन बेला बिग्रियो भने जब मस्जिद र मदरसाको छतबाट ढुङ्गामुढा प्रहार गर्न थालियो, अनि हाम्रो समुदायका ५/७ जना चोट लागेर घाइते भए । तब अवस्था बिग्रियो, अनि यो पक्षका केही युवाहरुले पनि जवाफमा ढुङ्गामुढा चलाउन थाले ।’
मुस्लिम समुदायका केही युवाहरुले योजनाबद्ध नै शोभायात्रामा प्रहार गर्न खोजेको उनको आरोप छ । उनी भन्छन्, ‘त्यो कसरी भने शोभायात्रा छपकैयामा पुगेको थियो, तर त्यहाँ वीरगन्जको मुर्ली, नगवा, बसपार्कसहितको ठाउँका मुिस्लम समुदायका युवाहरु जम्मा थिए । जुनकारण प्रष्ट हुन्छ कि योजनाबद्ध उनीहरुले यो प्रहार गरेका हुन ।’
अर्को कुरा मस्जिद र मदरसामाथि कहाँबाट त्यति ढुङ्गा आयो यो झनै गम्भीर विषय रहेको उनी सुनाउँछन् । शान्तिपूर्णरुपमा निकालिएको शोभायात्रामा मुस्लिम समुदायका केही अराजक व्यक्तिहरुले ढुङगामुढा प्रहार गरेर गलत गरेको उनको भनाइ छ ।
विवाद सुल्झाउन २८ घन्टा
गत चैत ३० गते दिउँसो तीनबजेदेखि एकाएक वीरगन्जको अवस्था तनावग्रस्त बन्यो ।
शोभायात्रा छपकैयामा पुग्दा दुबै समुदायबिच विवाद चर्किएपछि अवस्था बिग्रियो । सुरक्षा निकायका जिम्मेवारी व्यक्तिहरुको उपस्थितिमिा शोभायात्रा निकाल्दा तीन बजेपछि विवाद चर्किएपछिको अवस्थालाई मध्यनजर गरेर तुरुन्त सुरक्षा समितिको बैठक डाकियो ।
झडपलाई नियन्त्रणमा लिन एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरियो । तथापि अवस्था झन बिग्रिने भएपछि सुरक्षा समितिले त्यसलाई आंकलन गर्दै त्यही दिन साँझ साढे ६ बजेदेखि वीरगन्ज महानगरमा कफ्यू आदेश जारी गर्यो ।
बजारमा कर्फ्यू लागिसकेपछि त्यो राती अर्थात् ३१ गते विहानसम्म मुठभेडको अवस्था रोकियो, तर प्रशासनले यतिमै सीमित रहेन । ३१ गते मात्रै विभिन्न चरणमा ६ पटक छलफल चलायो ।
जिल्ला प्रशासन कार्यालयले ३१ गतेका दिन १४ घन्टा तारन्तार बैठक ग¥यो । यो दिन ७ बजे पहिलो बैठक राजनीतिक दलहरुसँग गर्यो, त्यसपश्चात ९ बजे हिन्दूवादी सङ्गठनहरुको बैठक बस्यो, त्यसलगतै १० बजे सबै दल र हिन्दूवादी सङ्गठनहरुसँगको अर्को बैठक भयो । यो बैठक सकेलगतै ११ बजे मुस्लिम समुदायका अगुवाहरुसँग बैठक बस्यो ।
यो सबै बैठक पश्चात पुनः १ बजे जिल्ला प्रशासनको कार्यालयमै सर्वदलीय बैठक बस्यो । सर्वदलीय बैठक पश्चात ३ बजे सर्वपक्षीय बैठक बस्यो ।
सिडिओ गणेश अर्याल भन्छन्, ‘यसरी सबैसँग विभिन्न चरणमा बैठक गरिसकेपछि ५ बुँदे सहमति भयो, जुन सहमति अनुसार सबैको सुझाव बमोजिम हामीले त्यो दिन राती १२ बजेदेखि कर्फ्यु हटायौं ।’
कर्फ्यू हटाए पनि निषेधाज्ञा भने जारी नै राखेको उनी भन्छन् । तत्पश्चात ३१ गते भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्नका लागि प्रहरीले घटनामा संलग्नहरुलाई थप अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा लियो ।
प्रहरीले उच्छृङ्खल गतिविधि गर्ने दुबै समुदायबाट २/२ जनालई नियन्त्रणमा लिएपछि त्यही साँझ हिन्दूवादी संङ्गठनहरुले आफ्नो व्यक्तिहरुलाई पक्राउ गरेको विरोधमा बजारमा प्रदर्शन गरे ।
यो प्रदर्शन २ गतेसम्म मात्रै सीमित रहेन, त्यसको भोलीपल्ट अर्थात् ३ गते पनि जारी नै रहयो । बजारको अवस्था पुनः संवेदनशील बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले फेरि हिन्दूवादी सङ्गठन, सबै राजनीतिक दल, मुस्लिम अगुवा, सञ्चारकर्मी, उद्योग वाणिज्य संघ र महानगरका सबै वडाका वाडध्यक्षहरुसँग छुट्टाछुट्टै बैठक गरे ।
यसरी चैत ३१ र बैशाख २ गते चलेको २८ घन्टे एकपक्षीय, दुइ पक्षीय, त्रिपक्षीय र सर्वपक्षीय बैठकमा सिडिओ अर्यालले सबै बैठकमा प्रशासनले कानुन कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने चेतावनी दिँदै तनावको अवस्था कम गर्न अनुरोध गरे ।
अन्नतः ३ गते सबै राजनीतिक दल र जिल्लाका मन्त्रीहरुले विज्ञप्ति नै निकालेर विवाद समाधान गर्न आग्रह गरे । ‘यहीकारणले वीरगनजको विवाद अहिले साम्य मात्र बनेको छ, समाप्त भएको छैन, सिडिओ अर्याल भन्छन् ।
मूलतः सुरक्षा संयन्त्रको यो पहलले नै ९६ घन्टासम्म चलेको धार्मिक विवाद घन्चकरबाट मुक्त भइ वीरगन्जमा ठूलो क्षति हुनबाट जोगिएको हिन्दूवादी सङगठनबाट बैठकमा सहभागी सुधिर पटेलको बुझाइ छ ।
के चलिरहेको छ कानुनी कारबाही ?
दुइ समुदायबिच हिंसा भड्काउने अहिले ५ जना प्रहरी हिरासतमा छन् । ३१ गते भएको सहमति अनुसार पर्सा प्रहरीले सूक्ष्म अनुसन्धान गरेर ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरी प्रमुख र्गातम मिश्र भन्छन्, ‘हामीले त्यो दिनको सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालमा आएका सबै सबुतप्रमाणहरुको अध्ययन गर्यौं, त्यही अध्ययनका अनुसार घटनामा संलग्नहरुलाई हामीले प्रहरी नियन्त्रणमा लियौं । अहिले ती सबैजनालाइ हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्यादसमेत थप भइसकेको छ ।’
घटना कहाँबाट सुरुवात भयो ? कुन समुदायले पहिला उच्छृङ्खल गतिविधि गर्यो ? सब सवालमा अनुसन्धान भइरहेको उनी बताउँछन् । त्यसकारण अहिले को दोषी ? को निर्दोष भन्ने अवस्था नरहेको उनको भनाइ छ ।
प्रहरी प्रमुख मिश्रका अनुसार घटनामा जोसुकै दोषी भएपनि प्रहरीले कानुन कार्यान्वयनको पाटोमा एक इन्च चुक्ने छैन । पक्राउ परेकाहरुमाथि राज्यविरुद्ध अपराधको मुद्दा र अपराधिक उपद्रोको मुद्दा चलाइएको पर्सा प्रहरीले जनाएको छ ।