काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।
उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ । गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयलाई उजुरीको विषयमा जवाफका लागि पत्र पठाएको थियो ।
पूर्वमन्त्री आलेले धनगढी विमानस्थल निर्माणका लागि आवश्यक जग्गा खरिदमा कम्पनी खडा गरेर जग्गा अनियमितता र करोडौँ रकम हिनामिना गरेको उजुरीमा जनाइएको छ । मन्त्री हुँदा आलेले धनगढी विमानस्थललाई विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेको खुलेको छ ।
आलेले मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकदार तथा बिचौलिया पवन गुप्ता र स्वकीय सचिव हेमन्त रेग्मीसमेतलाई मिलाएर विमानस्थल आसपासमा जग्गा खरिद गरेको पाइएको छ । आले पर्यटनमन्त्री भएकै बेलामा विमानस्थल क्षेत्र विस्तार गर्ने भन्दै बजेट विनियोजन गरेका थिए । स्रोतका अनुसार त्यसबेला आलेको समूहले प्रतिकट्ठा साढे १२ लाखका दरले जग्गा किनेका थिए । विमानस्थल बनेसँगै ५० लाख प्रतिकट्ठाका दरले बेच्ने वा व्यापारिक संरचना निर्माण गर्ने योजना उनीहरूको रहेको स्रोत बताउँछ ।
आले मन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र रह्यो । आलेले मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत हिनामिना गरेको स्रोतले बताएको छ ।