सिरहा । सिरहाकी आनन्ददेवी सदायको मृत्यु प्रकरण छानविनका लागि समिति गठन गरिएको छ ।
चार महिनाअघि यौन दुर्व्यवहारमा परेर बैशाख २ गते मृत्यु भएको नरहा गाँउपालिका बछर्वाकी २५ वर्षकी सदायको घटना छानबिनका लागि मधेस प्रदेश प्रहरीले समिति गठन गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको जनाईन्छ । जसअनुसार इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार समेत सदस्य छन् ।
बलात्कार प्रयासबाट उम्किएकी उनी नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा ३ दिन अघि अर्थात् यहि २ गते झुन्डिएको अवस्थामा भेटिइन् । पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेका बेला उनलाइ दुई युवकले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ ।
उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारले जाहेरी ढिला दर्ता गरेको पाइएको छ ।
प्रहरीले घटना दर्ता लगायतका कुरामा ‘बेवास्ता’ गरेको विषय र मृत्युको कारणबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको बताइन्छ । सदायलाई करणी गर्न खोज्नेहरू भागेका छन् ।
यसअघि संघ सरकारका गृहमन्त्री रमेश लेखकले समेत घटनाबारे यथार्थ छानबिन गरी दोषीलाइ कारबाही गर्न प्रहरीलाइ निर्देशन दिएका थिए ।