ट्रेन्डिङ

बारामा ३६७ किलो १४० ग्राम लागु औषध गाँजासहित ५ जना पक्राउ

बारा । बारा प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट लागु औषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँमा प्रहरीले गरेको जाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनमार्फत ३६७ किलो १४० ग्राम लागू औषध गाँजा बरामद गरेको प्रहरी प्रवक्ता वियराज पण्डितले बताए । उनका अनुसार ओसारपसारमा संलग्न रहेका ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ ।

मिनी ट्रकबाट ३०५ किलो गाँजा बरामद

ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर– ३ बजनीमा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.५ ख.२५०४ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा ट्रकभित्र लुकाई छिपाई

राखिएको १९ पोका गाँजा फेला पारेको हो । उक्त गाँजा करिब ३०५ किलो रहेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले यो गाँजासहित मकवानपुर कैलास गाउँपालिका–४ ट्रक चालक राजन लामा, मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ ईश्वर लोप्चन र ओसारपसारमा संलग्न मकवानपुर कैलास गाउँपालिका–१० जीवन ठोकरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी अर्को इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नम्बर– ४ खुटवामा बसोबास गर्ने ३१ वर्षीय पवन कुमार साहको घरमा लुकाई राखिएको २ किलो १४० ग्राम गाँजा फेला पारेको छ । निज साहले उक्त गाँजा विक्री वितरण गर्दै आएको सूचना पाएपछि प्रहरीले घरमै छापा मारी लागु औषध बरामद गरेको हो । प्रहरीले साहलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

भारततर्फ ओसारपसार गर्ने क्रममा पक्राउ

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका वडा नम्बर–१ मुसहरीटोलस्थित मकैबारी हुँदै टाउकोमा बोकी भारततर्फ गाँजा लैजाँदै गरेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट ६० किलो गाँजा बरामद गरिएको छ ।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार प्रदेश मोतिहारी जिल्ला अन्तर्गत पञ्चायत बिजवनी, थाना जितना, ग्राम रेगनिया निवासी २५ वर्षीय राजबिहारी कुमार रहेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजनामाथि लागु औषध सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै