वीरगन्ज । वीरगन्जमा आफ्नो समुदायका व्यक्तिहरुको रिहाइको माग गर्दै विहानैदेखि प्रदर्शन सुरु भएका छन् ।
प्रहरीले पक्राउ गरेको आफ्नो समुदायका व्यक्तिहरुलाई रिहाइको माग गर्दै हिन्दूवादी सङ्गठनहरुले बुधवार विहानैदेखि प्रदर्शन सुरु गरेका हुन । प्रदर्शनकारीहरुले महानगरको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले विहानैदेखि महानगरको परवानीपुर, प्रतिमा चौक, नेशनल ट्रेडिङसहित विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन सुरु भएसंगै बजारमा आंशिक प्रभावसमेत परेको छ । पसलहरु त्था यातायात सवारीसाधनहरु प्रभावित भएका छन् ।
पर्सा प्रहरीले हनुमान ज्यन्तीको अवसरमा निकालिएको जुलुसमा धार्मिक सदभाव बिथोलेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओको विश्लेषणका आधारमा प्रहरीले मंगलवार साँझ दुबै समुदायका २÷२ जनालाई पक्राउ गरेको प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
उनका अनुसार प्रहरीले शेष खुर्सेद आलम, सलाउदिन मियाँ ठकुराइ, रवि सर्राफ र बलजित सिंहलाइ पक्राउ गरेको हो । यही पक्राउ प्रकरणमा आफ्नो समुदायका दुइजनालाई किन पक्राउ गरिएको भन्दै हिन्दूवादी सङ्गठनहरुले मंगलवार साँझदेखि विरोध जनाउदै प्रदर्शन गरिरहेका छन् ।
पक्राउ परे लगत्तै हिन्दूवादी सङ्गठनहरु विरोध जनाउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरुलाई विहान ११ बजेदेखि छलफलका लागि बोलाएको छ । पुनः उत्पन्न विवादबारे छलफलका लागि बोलाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार सबैसंग समन्वय गरेर समस्या समाधान गर्नका लागि प्रशासनले यो पहलकदमी गरेको हो । बजारमा भइरहेको प्रदर्शन रोक्न पर्साका सिडिओ अर्यालसहित सुरक्षाका निकायका प्रमुखहरुले समेत खटिएका छन् ।
गएको ३० गते वीरगन्जमा हनुमान ज्यन्तीको अवसरमा शोभायात्रा निकाल्दा दुइ समुदायबिच विवाद भएको थियो । सोही विषयलाई लिएर अहिले वीरगन्ज तनावग्रस्त बनेको छ ।