पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले मंगलबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
उनले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुनेगरी सार्वजनिक भएका भ्रामक सूचनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
खासगरी पुराना घटनासँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामाग्री सार्वजनिक भएको पाइएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने जनाए ।
तसर्थ त्यस्ता सामग्री पोष्ट गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने कार्य गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ ।