ट्रेन्डिङ

भारतबाट तस्करी गरी ल्याउँदै गरेको लाखौंको सामानसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित एकजनालाइ पक्राउ गरेको छ ।

जिल्लाको गौर नगरपालिका–४ स्थित चेकिङका क्रममा प्रहरीले ठूलो मात्रामा तस्करीको सामान बरामद गरेको हो ।

रौतहट जिल्ला प्रहरी कार्यालय अन्तर्गत अस्थायी प्रहरी पोष्ट बखरैया मातहतको टोलीले टेम्पुमा भारतबाट चोरी पैठारी गरी नेपाल ल्याउँदै गरेको करिब साढे चार लाख रुपैयाँ बराबरको विभिन्न सामानसहित एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ्।

प्रहरीले टेम्पु चालक गौर नगरपालिका–४ का ३० वर्षीय उमेश कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

उनलाइ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, भारतबाट अबैध रूपमा ल्याइएको सामानहरूको अनुमानित मूल्य ४ लाख २१ हजार ११० रहेको छ।

ती सामानहरूमा भाडाकुँडा, फुलझाडू, कपडाहरू, सागसब्जी लगायतका घरेलु उपभोग्य सामग्रीहरू रहेका छन्।

तस्करी कार्यमा प्रयोग भएको टेम्पु (ना २ ह ७६५६) समेत नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक कुमार रायका अनुसार, उक्त सामानहरू चोरी पैठारी गरेर भन्सार छली नेपाल भित्र्याउने प्रयास भइरहेको भन्ने सूचनाका आधारमा चेकिङलाई कडाइ गरिएको थियो ।

प्रहरीले यस्तो अबैध कारोबारमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै