ट्रेन्डिङ

नयाँ वर्ष २०८२ आजदेखि सुरु, देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । विक्रम संवत् २०८२ को पहिलो दिन आज देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ।

एक आपसमा शुभकामना आदान–प्रदान गरी नागरिकहरूले नयाँ वर्षको स्वागत गरेका छन्।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन हो।
यही कारणले आजलाई “वैशाख सङ्क्रान्ति” अर्थात् “मेष सङ्क्रान्ति” पनि भनिन्छ।

सूर्यको गतिसँग मेल खाने भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार विक्रम संवत् ६० संवत्सरमध्ये एक हो र यो आदित्य सूर्यसँग सम्बन्धित छ।

सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् सञ्चालन हुने हुँदा यसमा शक संवत्का विशेषता र इश्वी संवत्का व्यावहारिक पक्ष पनि समावेश गरिएका छन्।

वैज्ञानिक आधारमा, सूर्य जब मेष राशिमा प्रवेश गर्छ, त्यस दिन नयाँ वर्ष सुरु हुन्छ र मीन राशि छोड्दा पुरानो वर्ष समाप्त हुन्छ।

यस संवत्‌मा सौरमान र चान्द्रमानको समन्वय समेत गरिएको छ।

इतिहासअनुसार कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो। वैदिक सनातन हिन्दू परम्पराअनुसार ६० संवत्सरहरू घुमिरहन्छन्, जसको पहिलो ‘प्रभव’ हो भने हाल चलिरहेको संवत्सर ‘सिद्धार्थी’ ५३ औं हो। चान्द्रमान अनुसार नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदाका दिन अर्थात् चैत १७ गतेदेखि सुरु भइसकेको छ।

नयाँ वर्षको दिन नेपालीहरू बिहानै उठी नुहाउने, घर सफा गर्ने, मठमन्दिरमा गई पूजा गर्ने, मीठो खाना खाने, आफन्त र साथीभाइसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने परम्परा पुर्‍याउँछन्।

विदेशमा रहेका नेपालीहरूले पनि यही दिनलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै