वीरगन्ज । पर्सा प्रहरीले अवैध लागु औषध चरेससहित एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट २ किलो लागु औषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जनाए ।
उनका अनुसार प्रहरीको टोलीले भारत बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला, सुगौली थाना ग्राम छपरा वडा नम्बर- बस्ने ७ ४५ वर्षीय बिकाश साह कानुलाइ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरको शंकराचार्य गेट नजिकैको सडकखण्डबाट बुधबार दिउँसो जाँच गर्ने क्रममा पैदलयात्री कानुलाइ पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार कानु नेपालबाट भारतको रक्सौलतर्फ जाँदै गर्दा शंकास्पद देखिएपछि रोकेर खानतलासी गर्दा उक्त चरेस फेला परेको हो ।
उनले लगाएको निलो आकासे रंगको सर्टमाथि खरानी रंगको बण्डीको भित्री भागमा पहेँलो प्लास्टिक र टेपले बेरिएको अवस्थामा चरेश जस्तो देखिने लागु औषध लुकाइछिपाई राखेका थिए ।
बरामद चरेश ४ प्याकेटमा गरी जम्मा २ किलो रहेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका कानुलाई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।