रौतहट ।लागु औषध गाँजासहित एकजना नेपाली युवक भारतको बिहारमा पक्राउ परेका छन ।
मोटरसाइकलको ट्यांकीभित्र गाँजा लुकाइछिपाइ तस्करी गरिरहेका रौतहटका एकजना युवक सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साहलाइ संयुक्त पक्राउ गरिएको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले जनाए ।
प्रहरीले उनको साथबाट मोटरसाइकलको ट्यांकीभित्र लुकाइछिपाइ राखेको ४ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको जनाएको छ ।
भारतीय सीमावर्ती भारतीय गाउँ पीठवामा उनी मंगलबार साँझ साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सीसीको पल्सर मोटरसाइकल चढेर प्रवेश गरेका थिए।
सोही सीमाक्षेत्रको गतिविधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचको क्रममा मोटरसाइकलको ट्यांकी भित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको हो ।
बरामद गाँजा, मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको छ।