विराटनगर । ‘देवकुमारी–बबरसिंह थापा सेवा गुठी’ले २०८१ सालको प्रतिष्ठित सम्मानहरूका लागि दुई विशिष्ट नामहरू घोषणा गरेको छ।
सुविख्यात सामाजिक अभियन्ता, लेखक तथा वैज्ञानिक डा. महावीर पुनलाई ‘देवकुमारी थापा स्मृति सम्मान’ प्रदान गरिने भएको छ । साथै, विराटनगरमा लामो समयदेखि सामाजिक सेवामा समर्पित संस्था ‘नरसेवा–नारायण सेवा’लाई ‘बबरसिंह थापा स्मृति सम्मान’द्वारा सम्मानित गरिने भएको छ।
गुठीको गत १९ गते बसेको बैठकले सो निर्णय गरेको संस्थाका महासचिव दिनेश श्रेष्ठले जानकारी दिए । सम्मान कार्यक्रम भने आगामी वैशाख ४ गते विराटनगरमा हुनेछ ।
डा. पुनले नेपालमा विज्ञान, प्रविधि र सामाजिक अभियानका क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई यो सम्मान प्रदान गर्न लागिएको हो। त्यसैगरी, ‘नरसेवा–नारायण सेवा’ संस्थाले विराटनगर क्षेत्रमा दिएको निरन्तर सामाजिक सेवाको कदर गर्दै उक्त संस्थालाई सम्मानित गर्न लागिएको श्रेष्ठको भनाइ छ।
यसअघि, ‘देवकुमारी–बबरसिंह थापा सेवा गुठी’ले साहित्यकार सत्यमोहन जोशी, मदनमणि दीक्षित, इन्द्रबहादुर राई, बैरागी काँइला, तुलसी दिवस, मन्जुल, कुन्ता शर्मा, र डा. रामबहादुर थापालगायत विशिष्ट व्यक्तित्वलाई सम्मानित गरिसकेको छ।
<span;>यी सम्मानले नेपाली समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूको कार्यलाई सम्मान र प्रोत्साहन दिने परम्परालाई निरन्तरता दिने श्रेष्ठको अपेक्षा छ ।