सर्लाही । मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढेको बताएका छन् ।
आफ्नो मन्त्रालयले शुक्रबार लालबन्दीमा आयोजना गरेको स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी २ दिने अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन् ।
बोल्ने कुरा र व्यवहारका कुरा नमिल्दा, सरकारी कामकारबाहीमा हुने ढिलासुस्ती लगायतका कारण नागरिकमा वितृष्णा बढेको उनको भनाइ थियो । उनका अनुसार मन्चबाट बढी भाषण तथा आश्वासन दिने तर काम नगर्ने परिपाटीले नागरिक असन्तुष्ट छन् ।
जिल्ला प्रशासन, प्रहरी, मालपोतलगायतका कार्यालयमा नागरिक चार/पाँच घण्टा लाइनमा बसेर काम नहुने परिपाटी ठूलो समस्याको रुपमा रहेको र यही अवस्थाले गर्दा नै नागरिकमा अहिलेको व्यवस्थाप्रति विकर्षण पैदा भएको उनको भनाई छ ।
उनले नागरिकलाई सहज हुने किसिमले ऐन, कानून निर्माण गर्नुपर्ने जोड समेत दिए । फरक प्रशंगमा मन्त्री लेखीले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिता ल्याउन पत्रकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् ।
बिहीबार र शुक्रबार २ दिन चल्ने स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सर्लाहीको २० वटै पालिकाबाट जनप्रतिनिधि र कर्मचारी सहभागी छन् ।