सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व आज सम्पन्न

वीरगन्ज ।आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गर्दै चैती छठपर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ।

चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने यस पर्वको अन्तिम दिन आज बिहान तराईका विभिन्न नदी, पोखरी र जलाशयमा श्रद्धालु भक्तजनको भीड लागेको थियो। व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरेका हुन्।

छठपर्वको विशेषता भनेको यसलाई पोखरी, नदी वा अन्य जलाशयमा आधिकारिक रूपमा पूजा गर्नु पर्ने परम्परा हो।

यस पर्वका अवसरमा बिहीबार साँझ भक्तजनहरूले परम्परागत फलफूल—केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।

पौराणिक कथनअनुसार, सती अनुसूयाले आफ्नो रोगग्रस्त पति निको पार्न सूर्यदेव र षष्ठी देवीको पूजा आराधना गरेकी थिइन्। महाभारतकालमा द्रौपदीले पाण्डवहरूको विजयको कामना गर्दै सूर्य उपासना गर्दै छठपर्व मनाएको उल्लेख पनि पाइन्छ।

सत्य, अहिंसा, सहानुभूति र अध्यात्मिक शुद्धताको सन्देश दिने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूर्तिको उद्देश्यले श्रद्धापूर्वक यो पर्व मनाइन्छ।

चार दिनसम्म चल्ने छठपर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने, र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ।

षष्ठीका साँझ व्रतीहरूले गहुँ, चामल, ओखल, जाँतो वा ढिकीमा पिसेको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान तथा विभिन्न फलफूल लिएर छठ घाटमा पुगी पूजा गरेका थिए।

सन्ध्याकालीन अर्घ्यमा व्रतीहरू पानीमा उभिएर सूर्य अस्ताउञ्जेल पूजा गरेका थिए। दुवै हत्केलामा पिठार, सिन्दूर र अक्षता फूल राखेर पालैपालो अर्घ्य अर्पण गर्दै अस्ताउँदो सूर्यलाई आराधना गरिएको थियो।

छठपर्वले समुदायमा अध्यात्म, एकता र सांस्कृतिक चेतनाको सन्देश फैलाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै