काठमाडौं – मधेस केन्द्रित ६ दल मिलेर सङ्घीय लोकतान्त्रिक मोर्चा गठन गर्ने घोषणा गरेका छन्। तर, आठ दलको तयारी भइरहेको भनिए पनि जनता समाजवादी पार्टी (अशोक राई समूह) र नागरिक उन्मुक्ति पार्टीले मोर्चामा सहभागी नहुने बताएका छन्।
मोर्चा घोषणाका लागि हृदयेश त्रिपाठीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सम्पर्क गरेका थिए। तर, रेशमले आफू उपस्थित हुन नसक्ने भन्दै आफ्ना प्रतिनिधि मात्र पठाउने बताएका छन्।
‘हामी अहिले लुम्बिनी प्रदेश र संघीय संसदीय दलको बैठकमा केन्द्रित छौँ, त्यसैले मोर्चा घोषणामा सहभागी हुन सक्दैनौँ,’ रेशमले भने। उनले मोर्चाको लक्ष्य, उद्देश्य र नेतृत्वबारे स्पष्टता नआएसम्म समर्थन वा विरोध गर्न नसक्ने बताए।
मोर्चामा जसपा नेपाल (उपेन्द्र यादव), लोसपा (महन्त ठाकुर), जनमत पार्टी (सीके राउत), राष्ट्रिय मुक्ति पार्टी नेपाल (राजेन्द्र महतो), जनता प्रगतिशील पार्टी (हृदयेश त्रिपाठी), र तराई मधेस लोकतान्त्रिक पार्टी (वृशेषचन्द्र लाल) सहभागी भएका छन्। मोर्चाको नेतृत्व आलोपालो गरिने बताइएको छ, जसअनुसार पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्नेछन्।
नागरिक उन्मुक्ति पार्टीले भने पुरानै दलहरूले नेतृत्व गर्ने नयाँ मोर्चाको औचित्य नभएको भन्दै आलोचना गरेको छ। ‘हाम्रो प्राथमिकता सत्ता र शक्ति होइन, नागरिकका न्यायका मुद्दा हुन्,’ पार्टीले जनाएको छ।