काठमाण्डौँ । हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीका पाँच जनासहित एक भारतीय नागरिक रहेका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल रहेका प्रहरीले जनाएको छ ।
उनीहरुले सर्लाहीको चक्रघट्टा वडा नम्बर ८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको प्रहरी भनाइ छ ।
उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी पर्यो । त्यसपश्चात प्रहरीले खोजतलास सुरु गर्यो ।
सोही क्रममा चैत १५ गते राहुलको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा प्रहरीले फेला परेको थियो ।
गाडिएको अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका प्रहरीले बतायो ।
लेनदेनको विषयमा विवाद हुँदा उनीहरुले राहुलको हत्या गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनायो ।